झापा । झापाको शिवसताक्षी नगरपालिका–७ बाट लागूऔषधसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा शिवसताक्षी–७ निवासी ४० वर्षीय सुरज ढकाल र ३१ वर्षीय सन्दिहाङ लिङ्देन रहेका छन्।



जिल्ला प्रहरी कार्यालय झापाका अनुसार उनीहरूको साथबाट प्लास्टिकबाहेक १२ ग्राम १०० मिलिग्राम ब्राउन सुगर, नगद १ लाख १ हजार ९ सय रुपैयाँ, विभिन्न कम्पनीका २१ थान मोबाइल फोन तथा दुई वटा घडी बरामद गरिएको छ।
प्रहरीले प्रारम्भिक अनुसन्धानका क्रममा बरामद मोबाइल फोन र घडीहरू लागूऔषध प्रयोगकर्ताहरूले बन्दकीमा राखेका सामान भएको खुलाएको छ। अनुसन्धान अनुसार प्रयोगकर्ताहरूले ती सामान बिक्रीकर्तासँग राखेर लागूऔषध खरिद गरी सेवन गर्ने गरेका थिए।
प्रहरीले घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको जनाएको छ। लागूऔषध कारोबार तथा ओसारपसार नियन्त्रणका लागि विशेष अभियान सञ्चालन भइरहेको प्रहरीले बताएको छ।








