भारतीय अवरोधले संकटमा नेपाली चिया क्षेत्र : सरकारको तत्काल कूटनीतिक पहल आवश्यक

युवराज रेग्मी, झापा । भारतले पछिल्लो समय विभिन्न नयाँ–नयाँ मापदण्ड, गुणस्तर परीक्षण, प्रमाणीकरण र प्राविधिक प्रक्रियाका नाममा नेपाली चियाको निर्यातमा अवरोध सिर्जना गर्न थालेपछि पूर्वी नेपालको प्रमुख नगदे बाली चिया संकटमा परेको छ। यसले इलाम, झापा, पाँचथर, धनकुटा र तेह्रथुमका हजारौं किसान, श्रमिक तथा चिया उद्योगलाई प्रत्यक्ष असर पारिरहेको छ।

नेपालको अर्थतन्त्रमा चियाको महत्वपूर्ण योगदान रहँदै आएको छ। विशेषगरी इलाम र झापालाई नेपाली चियाको मुख्य उत्पादन क्षेत्रका रूपमा चिनिन्छ। यहाँ उत्पादित अर्थोडक्स तथा सीटीसी चिया स्वदेशमा मात्र नभई भारत हुँदै तेस्रो मुलुकसम्म निर्यात हुने गरेको छ। तर भारतले पटक–पटक नयाँ मापदण्ड लागू गर्दै नेपाली चियाको प्रवेशमा विभिन्न प्रकारका अवरोध खडा गर्दा उद्योगी र किसान चिन्तित बनेका छन्।

चिया व्यवसायसँग सम्बन्धित सरोकारवालाहरूका अनुसार भारतको सीमामा चिया ढुवानी रोक्ने, थप परीक्षणको माग गर्ने, कागजी प्रक्रिया जटिल बनाउने तथा नयाँ प्रमाणपत्र अनिवार्य गर्ने जस्ता कार्यले नेपाली चियाको निर्यात प्रभावित भइरहेको छ।

निर्यातमा ढिलाइ हुँदा उद्योगमा उत्पादन थन्किने, किसानले समयमै मूल्य नपाउने र अन्तर्राष्ट्रिय बजारमा नेपाली चियाको विश्वसनीयतामा समेत असर पर्ने जोखिम बढेको छ।

पूर्वी पहाडी जिल्लाहरूमा चिया खेती केवल कृषि व्यवसाय मात्र होइन, सामाजिक र आर्थिक जीवनको आधार बनेको छ। इलाम, पाँचथर तथा अन्य पहाडी जिल्लाका हजारौं परिवार चिया खेतीकै आम्दानीमा निर्भर छन्। चियाकै कारण ग्रामीण क्षेत्रमा रोजगारी सिर्जना भएको छ, युवाहरू गाउँमै स्वरोजगार बनेका छन् र धेरै परिवारहरू बसाइँसराइ नगरी आफ्नै थातथलोमा जीवनयापन गरिरहेका छन्। चिया उद्योगहरूले समेत ठूलो सङ्ख्यामा श्रमिकलाई रोजगारी प्रदान गर्दै आएका छन्।

यदि निर्यातमा देखिएको समस्या दीर्घकालीन रूपमा समाधान हुन सकेन भने यसको असर किसानको उत्पादन मूल्यमा पर्ने निश्चित छ। उद्योगहरूले उत्पादन घटाउनुपर्ने अवस्था आउन सक्छ भने दैनिक ज्यालादारीमा काम गर्ने श्रमिकहरूको रोजगारीसमेत जोखिममा पर्न सक्छ। यसले समग्र चिया क्षेत्रको विकासलाई पछाडि धकेल्ने खतरा रहेको सरोकारवालाहरू बताउँछन्।

नेपाल र भारतबीच खुला सीमा, ऐतिहासिक व्यापारिक सम्बन्ध तथा विभिन्न द्विपक्षीय सम्झौताहरू रहेका छन्। त्यसैले यस्तो समस्याको समाधान संवाद र कूटनीतिक पहलमार्फत खोजिनुपर्ने विज्ञहरूको भनाइ छ।

सरकारले भारत सरकारसँग उच्चस्तरीय वार्ता गरी नेपाली चियाको सहज निर्यात सुनिश्चित गर्न पहल गर्नुपर्ने माग चिया व्यवसायी, किसान तथा सरोकारवालाहरूले उठाएका छन् साथै, दीर्घकालीन समाधानका लागि सरकारले भारतमा मात्र निर्भर रहने अवस्थाको अन्त्य गर्दै नेपाली चियाको अन्तर्राष्ट्रिय बजार विस्तारमा ध्यान दिनुपर्ने आवश्यकता पनि देखिएको छ। युरोप, अमेरिका, जापान, मध्यपूर्वलगायतका सम्भावित बजारमा नेपाली चियाको पहुँच बढाउने, गुणस्तर अभिवृद्धि गर्ने र ब्रान्डिङमा लगानी बढाउने नीति अवलम्बन गर्नुपर्ने देखिन्छ।

नेपाली चिया विश्व बजारमा आफ्नो विशिष्ट स्वाद, सुगन्ध र गुणस्तरका कारण पहिचान बनाउँदै गएको अवस्थामा छिमेकी मुलुकबाट सिर्जित अवरोधले सम्पूर्ण क्षेत्रलाई प्रभावित बनाउनु दुःखद पक्ष हो। किसान, उद्योगी र श्रमिकको भविष्यसँग प्रत्यक्ष जोडिएको यस विषयमा सरकार अब मौन बस्न मिल्दैन। समयमै प्रभावकारी कूटनीतिक तथा व्यापारिक पहल नगर्ने हो भने नेपाली चिया क्षेत्रले ठूलो आर्थिक तथा सामाजिक क्षति व्यहोर्नुपर्ने अवस्था आउन सक्छ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय