सात भिजनसहित चुनावी मैदानमा ईश्वर खत्री, गौरादह उद्योग वाणिज्य संघको नेतृत्वमा बलियो दाबेदारी

गौरादह | गौरादह उद्योग वाणिज्य संघको आगामी २०८३ जेठ ९ गते हुने निर्वाचन नजिकिँदै जाँदा अध्यक्ष पदका उम्मेदवार ईश्वर खत्री व्यवसायीमाझ चर्चाको केन्द्रमा बनेका छन्।

“स्वतन्त्र साझा समूह” बाट अध्यक्ष पदमा उम्मेदवारी दिएका खत्रीले व्यवसायिक क्षेत्रको संरक्षण, प्रवर्द्धन र आधुनिकीकरणलाई केन्द्रमा राख्दै आफ्ना सात प्रमुख भिजन सार्वजनिक गरेका छन्।

गौरादहका परिचित युवा व्यवसायी खत्री हाल नोबेल डेन्टल अस्पताल गौरादहका सञ्चालकका रूपमा सक्रियछन्। सामाजिक तथा व्यवसायिक क्षेत्रमा लामो समयदेखि निरन्तर क्रियाशील उनी यसअघि गौरादह उद्योग वाणिज्य संघको महासचिवको जिम्मेवारी सफलतापूर्वक सम्हालिसकेका अनुभवी व्यवसायी समेत हुन्।

उनकै कार्यकालमा संघको महत्वपूर्ण उपलब्धिका रूपमा आधुनिक तथा सुविधा सम्पन्न अतिथि सदन निर्माण सम्पन्न भएको थियो। व्यवसायीहरूको हकहितका लागि निरन्तर सक्रिय रहँदैआएका खत्रीले कर सम्बन्धी तालिम, वित्तीय साक्षरता कार्यक्रम तथा व्यवसायीहरूले भोग्दै आएका कानुनी र प्रशासनिक जटिलतामा व्यक्तिगत रूपमा सहजीकरण गर्दै आएको व्यवसायीहरू बताउँछन्।

व्यवसायिक सुधारका सात स्पष्ट भिजन

अध्यक्ष पदका उम्मेदवार खत्रीले गौरादहको व्यवसायिक वातावरणलाई व्यवस्थित, सुरक्षित र प्रतिस्पर्धी बनाउन सात मुख्य प्राथमिकता सार्वजनिक गरेकाछन्।

जसअन्तर्गतः

बजारको आधुनिकीकरण

व्यवसायी प्रवर्द्धन तथा विकास

वित्तीय साक्षरता अभिवृद्धि

क्षमता विकास तथा सीपमूलक तालिम

व्यवसायमैत्री वातावरण निर्माण

उपभोक्तामैत्री बजार व्यवस्थापन

संस्थागत पारदर्शिता र सुशासन

लाई विशेष प्राथमिकतामा राखिएको छ।

उनका अनुसार पछिल्लो समय आर्थिक मन्दी, असुरक्षित बजार वातावरण तथा घट्दो व्यापारका कारण गौरादहका व्यवसायीहरू गम्भीर समस्यामा परिरहेका छन्। विशेषगरी साना तथा मझौला व्यवसायीहरू बढी प्रभावित भएकाले उनीहरूको संरक्षण र प्रवर्द्धनका लागि साझा पहल आवश्यक रहेको खत्रीको भनाइ छ। “बाणिज्य संघलाई सबै व्यवसायीको साझा संस्था बनाउँछु” !

उम्मेदवार खत्रीले आफू निर्वाचित भएपछि सबैभन्दा पहिले गौरादह क्षेत्रका व्यवसायीहरूको वास्तविक तथ्यांक संकलन गरी उनीहरूको समस्याको पहिचान गरिने बताएका छन्। त्यसपछि आवश्यकता अनुसार व्यवसायीमैत्री योजना, तालिम, परामर्श तथा सहजीकरण कार्यक्रम सञ्चालन गरिने उनको योजना छ।

“यो निर्वाचन केवल नेतृत्व चयन मात्र होइन, गौरादहको व्यवसायिक भविष्य तय गर्ने महत्वपूर्ण अवसर पनि हो,” खत्रीले भने, “सम्पूर्ण व्यवसायी साथीहरूलाई विवेकपूर्ण निर्णय गर्दै हाम्रो स्वतन्त्र साझा समूहलाई सहयोग गर्न आग्रह गर्दछु।”

निर्वाचन नजिकिँदै जाँदा ईश्वर खत्री अहिले घरदैलो, भेटघाट तथा प्रचार–प्रसार अभियानमा सक्रिय रूपमा जुटिरहेका छन्।

व्यवसायीहरूबीच उनको उम्मेदवारीलाई अनुभवी, योजनाबद्ध र व्यवसायीमैत्री नेतृत्वका रूपमा हेरिएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय