सन्दिप थापा, गौरादह — नयाँ वर्ष २०८३ को अवसरमा गौरादह जेसिजले ‘जेसिज क्यालेन्डर विमोचन तथा चौथो जेसिज साँझ’ कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ।
गौरादह–२ स्थित लायन्स चिल्ड्रेन पार्कमा आयोजित कार्यक्रममा नयाँ वर्षको शुभकामना आदानप्रदानसँगै जेसिजको वार्षिक क्यालेन्डर सार्वजनिक गरिएको थियो। कार्यक्रमको उद्देश्य नेपाली कला–साहित्यको प्रवर्द्धन गर्नु पनि रहेको आयोजकले जनाएको छ।
कार्यक्रममा छन्द कवि सुदेश सत्यालसहित विभिन्न सर्जकहरूले गजल र कविता प्रस्तुत गरेका थिए। उनीहरूको प्रस्तुति दर्शकका लागि आकर्षणको केन्द्र बनेको थियो।
यसैबीच, क्यान्सर पीडित स्थानीय चेली दिपीका कार्कीको उपचारका लागि आर्थिक सहयोगको अपिल गरिएको थियो, जसमा सहभागीहरूले सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।
कार्यक्रम संयोजक जेसी शितल अधिकारीले साहित्यमार्फत सकारात्मक सन्देश फैलाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए।
कार्यक्रममा नेपाल जेसिजका राष्ट्रिय अध्यक्ष जेसी जीवन कार्की प्रमुख अतिथि तथा गौरादह नगरपालिकाका नगर प्रमुख छत्रपति सुवेदी विशिष्ट अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो साथै, विभिन्न संघ–संस्थाका प्रतिनिधि, जनप्रतिनिधि, समाजसेवी र साहित्यप्रेमीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।




