दमकमा मासु तथा खाद्यान्नको मूल्य नबढाउन व्यवसायीलाई निर्देशन, अवैध फूल बिक्री गरे जफत गरिने

दमक । झापाको दमक नगरपालिकाले बजारमा बिक्री-वितरण भइरहेका मासुलगायत उपभोग्य वस्तुको स्वच्छता, गुणस्तर र मूल्य नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ।

दमक नगरपालिकाका नगरप्रमुख रामकुमार थापाको संयोजकत्वमा सोमबार बसेको सरोकारवालासहितको बैठकले हाल कायम रहेका सबै प्रकारका मासुको मूल्य यथावत् राखेर बिक्री-वितरण गर्नुपर्ने निर्णय गरेको हो। दीपावली र छठ पर्वपछि दमकका सम्पूर्ण मासु व्यवसायीसँग छलफल गरी थप निर्णय गरिने नगरपालिकाले जनाएको छ।

बैठकले खाद्यान्नजन्य उपभोग्य वस्तुमा मूल्य वृद्धि नगरी व्यवसाय सञ्चालन गर्न व्यवसायीलाई आग्रह गरेको छ। त्यस्तै, आफ्नो व्यवसायस्थलबाहिर फुटपाथ तथा सडक अवरुद्ध हुने गरी व्यापार गर्न र व्यवसाय दर्ता गर्दा तोकिएको स्थानबाहेक अन्यत्र व्यवसाय सञ्चालन गर्न रोक लगाउने निर्णय गरेको छ।

त्यसैगरी, गैरकानुनी रूपमा भन्सार छली गरी ल्याइएका फूललगायतका वस्तु तथा प्लास्टिकजन्य फूल बिक्री-वितरण गरेको पाइएमा जफत गरी नष्ट गरिने जनाइएको छ।

नगरपालिकाले दमक क्षेत्रभित्र सिटी रिक्सा तोकिएको स्थानमा मात्र पार्किङ गर्नुपर्ने र निर्धारित भाडादरभन्दा बढी रकम लिन नपाइने निर्णयसमेत गरेको छ।

नगरप्रमुख थापाको संयोजकत्वमा बसेको बैठकमा विभिन्न स्थानीय निकाय, सङ्घ-संस्था तथा सरोकारवालाहरूको सहभागिता रहेको थियो।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय