कमल, झापा । कमल गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत केशवकुमार ढकालको सरुवा भएपछि गाउँपालिकाले बिहीबार ‘फेरि भेटौँला’ कार्यक्रम आयोजना गरी सम्मानपूर्वक बिदाइ गरेको छ।
गाउँपालिका अध्यक्ष हुकुमसिंह राईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जनप्रतिनिधि, शाखा प्रमुख, कर्मचारी तथा स्वास्थ्यकर्मीहरूले ढकालसँगको सहकार्य स्मरण गर्दै उहाँले दुई वर्षभन्दा बढी कार्यकालमा पुर्याउनुभएको योगदानको प्रशंसा गरेका थिए।



कार्यक्रममा शिक्षा शाखा प्रमुख सूर्य न्यौपानेले ढकालको इमानदारिता, कार्यशैली र जिम्मेवारीप्रतिको प्रतिबद्धताको प्रशंसा गर्नुभयो। सहकार्यका क्रममा जान-अन्जानमा कसैबाट गल्ती भएको भए क्षमा गरिदिन आग्रह गर्दै उहाँले कमल गाउँपालिकाका मिठा सम्झनाहरू साथमा लिएर जान अनुरोध गर्नुभयो।
बिदाइका क्रममा ढकालले कर्मचारी, जनप्रतिनिधि र स्थानीय समुदायबाट प्राप्त सहयोगप्रति आभार व्यक्त गर्नुभयो। कमल गाउँपालिकामा बिताएको दुई वर्षभन्दा बढी समय आफ्नो सरकारी सेवाकालकै स्मरणीय अवधिमध्ये एक रहेको उहाँले बताउनुभयो।
उहाँले गाउँपालिकामा दरबन्दीभन्दा बढी कर्मचारी तथा शिक्षकको व्यवस्थापन, तलब भुक्तानी, बेरुजु र आर्थिक दायित्वका कारण सिर्जना भएका चुनौतीबारे पनि चर्चा गर्नुभयो। केन्द्र सरकारका निर्देशन तथा विद्यमान व्यवस्थापनसम्बन्धी बाध्यताका कारण केही कर्मचारी व्यवस्थापनमा कठिनाइ आएको र थप करार सम्झौता गर्न नसकिएको उहाँको भनाइ थियो।
ढकालले जिम्मेवारी निर्वाह गर्ने क्रममा कसैको मनमा चोट पुगेको भए व्यक्तिगत रूपमा नलिन आग्रह गर्दै सहकार्यका क्रममा भएका तीतामीठा अनुभवलाई बिर्सेर अघि बढ्न सबैलाई अनुरोध गर्नुभयो।
कार्यक्रममा अध्यक्ष राईले अनुभवी र कार्यकुशल प्रशासकीय अधिकृतका रूपमा ढकालले कमल गाउँपालिकामा पुर्याउनुभएको योगदानको प्रशंसा गर्नुभयो। उहाँको अनुभव र कार्यक्षमताको आवश्यकता भविष्यमा कमल गाउँपालिकालाई समेत पर्न सक्ने उल्लेख गर्दै अध्यक्ष राईले आगामी कार्यक्षेत्रमा सफलताको शुभकामना व्यक्त गर्नुभयो।
बिदाइका क्रममा शाखा प्रमुख, कर्मचारी तथा स्वास्थ्यकर्मीहरूले ढकालसँगका सहकार्यका अनुभव सुनाउँदै शुभकामना व्यक्त गरेका थिए। लामो समय एउटै कार्यालयमा काम गरेका सहकर्मीहरू बिदाइका क्षणमा भावुक बनेका थिए।
गाउँपालिका अध्यक्ष राईले समापन मन्तव्य राखेपछि सामूहिक तस्बिर खिचेर कार्यक्रम सम्पन्न गरिएको थियो। ढकालको सरुवा इलाका प्रशासन कार्यालय रंगेलीमा भएको हो।











