कमलमा भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रमको पहिलो दिन सम्पन्न, भोलि पनि सञ्चालन हुने

कमल, झापा। झापाको कमल गाउँपालिकामा राष्ट्रिय भिटामिन ‘ए’ तथा जुकाको औषधि खुवाउने कार्यक्रमको पहिलो दिन आज सम्पन्न भएको छ। बालबालिकाको स्वास्थ्य तथा पोषण अवस्था सुधार गर्ने उद्देश्यले सञ्चालन गरिएको कार्यक्रममा महिला स्वास्थ्य स्वयंसेविका र स्वास्थ्यकर्मी परिचालित भएका छन्।

कार्यक्रमअन्तर्गत ५ वर्षमुनिका बालबालिकालाई भिटामिन ‘ए’ तथा जुकाको औषधि खुवाइएको छ। त्यस्तै, २ वर्षमुनिका बालबालिकाको पाखुराको नाप (MUAC) लिएर पोषण अवस्थाको परीक्षण तथा स्क्रिनिङ गरिएको छ।

यसैगरी, बालबालिकाले राष्ट्रिय खोप तालिकाअनुसार पूर्ण खोप पाए–नपाएको यकिन गर्ने, छुटेका खोपको पहिचान गर्ने तथा २४ महिनामुनिका बालबालिकालाई बाल भिटा वितरण गर्ने कार्यसमेत गरिएको छ।

कार्यक्रम सञ्चालनका लागि गाउँपालिकामा २४ जना महिला स्वास्थ्य स्वयंसेविका र १९ जना स्वास्थ्यकर्मी तथा कर्मचारी परिचालन गरिएको प्रमुख प्रशासकीय अधिकृत सुमन यङ्याले जानकारी दिनुभयो।

गाउँपालिका अध्यक्ष हुकुमसिंह राईले बालबालिकाको स्वास्थ्य र पोषण सुधार गाउँपालिकाको प्राथमिकतामा रहेको बताउँदै लक्षित सबै बालबालिकालाई स्वास्थ्य सेवा तथा पोषण कार्यक्रमको पहुँचमा ल्याउन आग्रह गर्नुभयो। उहाँले पहिलो दिन छुटेका बालबालिकालाई भोलि नजिकैको स्वास्थ्य संस्था वा तोकिएको केन्द्रमा लगेर सेवा लिन अभिभावकलाई अनुरोध गर्नुभएको छ।

गाउँपालिका स्वास्थ्य शाखाका अनुसार भोलि कार्तिक १८ गते पनि विभिन्न स्वास्थ्य संस्था तथा तोकिएका केन्द्रमार्फत भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइनेछ। भोलिसँगै चालु आर्थिक वर्षको पहिलो चरणको कार्यक्रम सम्पन्न हुनेछ।

गाउँपालिकाले आफ्ना ५ वर्षमुनिका बालबालिकालाई अनिवार्य रूपमा नजिकैको स्वास्थ्य संस्था वा तोकिएको केन्द्रमा लगेर भिटामिन ‘ए’ तथा जुकाको औषधि खुवाउन सम्पूर्ण अभिभावकमा आग्रह गरेको छ।

#कमलगाउँपालिका #भिटामिनए #जुकाकोऔषधि #बालस्वास्थ्य #पोषण

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय