कोशी प्रदेशमा अपराध अनुसन्धान सुदृढीकरणका लागि एकदिवसीय गोष्ठी सम्पन्न

विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालय, विराटनगरको आयोजनामा अपराध अनुसन्धानलाई थप प्रभावकारी, प्रविधिमैत्री तथा प्रमाणमुखी बनाउने उद्देश्यले एकदिवसीय अपराध अनुसन्धान गोष्ठी सम्पन्न भएको छ।

गोष्ठीमा कोशी प्रदेशका १४ वटै जिल्लाका जिल्ला प्रहरी कार्यालयअन्तर्गत अपराध अनुसन्धान शाखामा कार्यरत प्रहरी अधिकृत तथा अनुसन्धानमा संलग्न प्रहरी कर्मचारीहरूको सहभागिता रहेको थियो।

कार्यक्रममा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। गोष्ठीमा अपराध अनुसन्धानका क्रममा देखिएका चुनौती, अनुसन्धान प्रक्रियामा अपनाउनुपर्ने नवीन विधि, प्रविधिको प्रयोग तथा अन्तरजिल्ला समन्वयलाई थप सुदृढ बनाउने विषयमा विस्तृत छलफल गरिएको थियो।

सहभागीहरूले अनुसन्धानका क्रममा भोगिएका अनुभव, चुनौती तथा समाधानका उपायबारे विचार आदानप्रदान गर्दै अनुसन्धान कार्यलाई अझ प्रभावकारी र नतिजामुखी बनाउने उपायहरूबारे सुझाव प्रस्तुत गरेका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले शान्ति सुरक्षा कायम गर्न र अपराध नियन्त्रणमा अनुसन्धानको भूमिका अत्यन्त महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो। उहाँले अनुसन्धान प्रक्रियालाई तथ्य, प्रमाण र आधुनिक प्रविधिमा आधारित बनाउँदै व्यावसायिकता तथा विश्वसनीयता अभिवृद्धि गर्न आवश्यक रहेको बताउनुभयो।

गोष्ठीबाट प्राप्त सुझाव तथा अनुभवले प्रदेशभर सञ्चालन हुने अपराध अनुसन्धान कार्यको गुणस्तर सुधार गर्न तथा अनुसन्धान प्रणालीलाई अझ प्रभावकारी बनाउन महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरिएको छ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय