उर्लाबारी । उर्लाबारी नगरपालिका वडा नं. ७ लाई बालमैत्री स्थानीय शासनयुक्त तथा बालश्रममुक्त वडा घोषणा गरिएको छ। आइतबार वडास्थित देवीस्थान दुर्गा मन्दिरको सभाहलमा आयोजित विशेष कार्यक्रममा उर्लाबारी नगरपालिकाका नगर प्रमुख गंगाप्रसाद खरेलले वडालाई औपचारिक रूपमा बालमैत्री तथा बालश्रममुक्त वडा घोषणा गर्नुभएको हो।
बालअधिकार संरक्षण, बाल सहभागिता अभिवृद्धि, बालमैत्री वातावरण निर्माण तथा बालश्रम न्यूनीकरणका लागि आवश्यक सूचकहरू पूरा गरेपछि वडा नं. ७ लाई बालमैत्री स्थानीय शासनयुक्त तथा बालश्रममुक्त वडा घोषणा गरिएको जनाइएको छ।



कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख खरेलले बालबालिकाको समग्र विकास, शिक्षा, स्वास्थ्य, सुरक्षा तथा संरक्षण सुनिश्चित गर्न स्थानीय तहको भूमिका महत्वपूर्ण हुने बताउनुभयो। उहाँले बालश्रम अन्त्यका लागि सरोकारवाला सबै पक्षबीच सहकार्य आवश्यक रहेको समेत उल्लेख गर्नुभयो।
कार्यक्रममा नगर उपप्रमुख मीना कुमारी खतिवडा पौडेल विशेष अतिथिका रूपमा सहभागी हुनुभएको थियो। वडा नं. ७ की वडा अध्यक्ष उर्मिला थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जनप्रतिनिधि, विभिन्न संघसंस्थाका प्रतिनिधि, शिक्षक, अभिभावक, बाल क्लब तथा बाल सञ्जालका सदस्य, महिला स्वास्थ्य स्वयंसेविका, टोल विकास संस्थाका प्रतिनिधि, शिक्षासेवी तथा स्थानीयवासीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
बालमैत्री स्थानीय शासनको अवधारणालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्दै बालअधिकार सुनिश्चित गर्ने लक्ष्यका साथ उर्लाबारी नगरपालिका अगाडि बढिरहेको नगरपालिकाले जनाएको छ।









