धनगढी । कैलालीको गोदावरी नगरपालिका–४ स्थित गोदावरी गाइमारे चुर सामुदायिक वन क्षेत्रमा अतिक्रमण हटाउने क्रममा वन कर्मचारीले टेम्पोलाई जानाजानी भिरबाट खसालेको भन्ने सामाजिक सञ्जालमा फैलिएको समाचारप्रति डिभिजन वन कार्यालय, कैलालीले खण्डन गरेको छ।
कार्यालयका अनुसार सार्वजनिक वन क्षेत्रलाई गैरकानुनी रूपमा भागबण्डा गरी भित्री रूपमा बेचबिखन गर्ने तथा खोक्रा छाप्रा निर्माण गरेर सरकारी वनजग्गा कब्जा गर्ने गतिविधि लामो समयदेखि हुँदै आएको थियो।



अतिक्रमण हटाउने अभियानका क्रममा सम्बन्धित पक्षलाई पटक–पटक संरचना हटाउन निर्देशन दिँदा पनि अटेर गरेपछि उक्त कबाडी अवस्थामा रहेको टेम्पो हटाउने प्रयास गरिएको कार्यालयले जनाएको छ। टेम्पो गुडाउन नमिल्ने अवस्थाको भएकाले बल प्रयोग गरेर संरचना हटाउने क्रममा भिरालो तथा असन्तुलित भू–सतहका कारण अस्थिपञ्जरजस्तै भइसकेको टेम्पो अनियन्त्रित भई दुर्घटनावश भिरबाट खसेको कार्यालयको भनाइ छ।
डिभिजन वन कार्यालयले कानुनबमोजिम गरिएको वन संरक्षण तथा अतिक्रमण नियन्त्रणसम्बन्धी कार्यलाई अतिरञ्जित र भ्रामक ढंगले प्रचार–प्रसार नगर्न तथा सत्यतथ्य बुझेर मात्र सूचना सम्प्रेषण गर्न सबैमा आग्रह गरेको छ।









