विराटनगर । कमल गाँउपालिका अध्यक्ष हुकुमसिंह राई यतिबेला कोशी प्रदेशको राजधानी विराटनगरमा विभिन्न मन्त्रालयका मन्त्रीहरूसँग भेटघाट तथा छलफलमा व्यस्त रहेका छन्। आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट, नीति तथा कार्यक्रमलाई प्रभावकारी र जनमुखी बनाउने उद्देश्यका साथ उनले प्रदेश सरकारका जिम्मेवार पदाधिकारीहरूसँग निरन्तर समन्वय गरिरहेका छन्।
अध्यक्ष राईले स्थानीय तहको विकास, स्वास्थ्य सेवा विस्तार, महिला सशक्तीकरण तथा आधारभूत पूर्वाधारका विषयलाई प्राथमिकतामा राखेर प्रदेश सरकारसँग आवश्यक सहयोग र समन्वयका लागि पहल गरिरहेको जनाइएको छ।



यसैबीच, पालिकामा महिला स्वास्थ्य स्वयंसेविकाहरूसँग पनि महत्वपूर्ण बैठक सम्पन्न भएको छ। बैठकमा मातृ तथा शिशु स्वास्थ्य, समुदायस्तरमा स्वास्थ्य सचेतना, महिला स्वास्थ्य सेवाको पहुँच विस्तार तथा स्वयंसेविकाहरूको भूमिका थप प्रभावकारी बनाउने विषयमा छलफल भएको थियो।
अध्यक्ष राईले महिला स्वास्थ्य स्वयंसेविकाहरू स्थानीय स्वास्थ्य सेवाको महत्वपूर्ण आधार भएको उल्लेख गर्दै उनीहरूको क्षमता अभिवृद्धि र सेवा सुविधाको व्यवस्थापनमा पालिका प्रतिबद्ध रहेको बताए। उनले आगामी आर्थिक वर्षको बजेट तथा कार्यक्रममा महिला र स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकता दिइने जानकारी समेत दिए।
पालिकाले आगामी बजेट, नीति तथा कार्यक्रममार्फत महिला, स्वास्थ्य, शिक्षा तथा सामाजिक विकासका क्षेत्रमा थप प्रभावकारी योजना अघि सार्ने तयारी गरिरहेको जनाएको छ। स्थानीयवासीको जीवनस्तर उकास्ने तथा गुणस्तरीय सेवा प्रवाह सुनिश्चित गर्ने लक्ष्यसहित बजेट निर्माण प्रक्रिया अगाडि बढाइएको अध्यक्ष राईले बताए।









