गौरादह उद्योग वाणिज्य संघको शपथग्रहण सम्पन्न, सामुदायिक सभाहल उद्घाटनसँगै नयाँ नेतृत्वलाई जिम्मेवारी हस्तान्तरण

युवराज रेग्मी, गौरादह। गौरादह उद्योग वाणिज्य संघको नवनिर्वाचित कार्यसमितिको शपथग्रहण तथा पदस्थापन कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। सोही अवसरमा गौरादहवासीको साझा सम्पत्तिका रूपमा निर्माण गरिएको ‘गौरादह सामुदायिक सभाहल’ को उद्घाटन तथा सभाहल निर्माणमा योगदान पुर्‍याउने दाताहरूको शिलालेख अनावरण समेत गरिएको छ।

कोशी प्रदेशका हिक्मत कुमार कार्की को प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा उद्योगी–व्यवसायी, जनप्रतिनिधि, विभिन्न संघसंस्थाका प्रतिनिधि, शिक्षाविद् तथा स्थानीय सरोकारवालाहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

नवनिर्मित सभाहलमा आयोजित कार्यक्रममा संघका नवनिर्वाचित पदाधिकारी तथा कार्यसमिति सदस्यहरूलाई शपथग्रहण गराउँदै औपचारिक रूपमा पदस्थापन गरिएको थियो। यससँगै गौरादह क्षेत्रका सामाजिक, सांस्कृतिक तथा सामुदायिक गतिविधिहरू सञ्चालनका लागि महत्वपूर्ण पूर्वाधारका रूपमा रहेको सभाहल पनि औपचारिक रूपमा सञ्चालनमा आएको छ।

कार्यक्रममा संघका निवर्तमान अध्यक्ष जीतबहादुर कार्की नेतृत्वको कार्यसमितिले आफ्नो कार्यकालमा पुर्‍याएको योगदानको कदर गर्दै सदस्यहरूलाई सम्मानपत्र प्रदान गरिएको थियो। साथै, २०८२ सालको एसईई परीक्षामा गौरादहका विभिन्न विद्यालयबाट ४.० जीपीए प्राप्त गर्ने उत्कृष्ट विद्यार्थीहरूलाई नगद पुरस्कारसहित सम्मान गरिएको थियो।

शुभकामना मन्तव्य व्यक्त गर्ने वक्ताहरूले निवर्तमान नेतृत्वले संस्थागत विकास, व्यवसायीको हकहित संरक्षण तथा सामुदायिक उत्तरदायित्वका क्षेत्रमा उल्लेखनीय काम गरेको भन्दै प्रशंसा गरेका थिए। उनीहरूले नवनिर्वाचित अध्यक्ष ईश्वरकुमार खत्री नेतृत्वको नयाँ कार्यसमितिलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै गौरादहको व्यापार, उद्यमशीलता र आर्थिक गतिविधिलाई थप गतिशील बनाउन नेतृत्वदायी भूमिका खेल्ने विश्वास व्यक्त गरे।

कार्यक्रममार्फत संघको नयाँ नेतृत्वलाई औपचारिक रूपमा जिम्मेवारी हस्तान्तरण गरिएको छ। सहभागीहरूले गौरादह उद्योग वाणिज्य संघले आगामी दिनमा व्यवसायीहरूको हकहित संरक्षण, स्थानीय आर्थिक विकास, लगानी प्रवर्द्धन तथा सामाजिक सेवाका क्षेत्रमा अझ प्रभावकारी भूमिका निर्वाह गर्ने अपेक्षा व्यक्त गरेका छन्।

गौरादह सामुदायिक सभाहल उद्घाटन र नयाँ नेतृत्वको पदस्थापनसँगै सम्पन्न भएको यो कार्यक्रम गौरादहको सामाजिक, आर्थिक तथा संस्थागत विकासको दिशामा महत्वपूर्ण कोसेढुङ्गाका रूपमा हेरिएको छ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय