कमल । झापाको कमल गाउँपालिकामा सञ्चालित जापानी इन्सेफ्लाइटिस (जेई) विरुद्धको खोप अभियानमा १४ हजार ४२८ जनाले खोप लगाएका छन्। आश्विन ५ देखि १५ गतेसम्म सञ्चालन भएको अभियानमा लक्षित जनसंख्याको ५४.५ प्रतिशतले खोप लगाएका हुन्।
गाउँपालिकाको स्वास्थ्य शाखाका अनुसार ३०–६० वर्ष उमेर समूहका १० हजार ५१६ र ६० वर्षमाथिका ३ हजार ९१२ जनाले खोप लगाएका छन्। खोप लगाउनेमध्ये ८ हजार ५४५ महिला र ५ हजार ८८३ पुरुष छन्।



वडागत रूपमा वडा नं. ६ मा ६८.४ प्रतिशत खोप लगाइएको छ भने वडा नं. ४ मा ४४.८ प्रतिशत प्रगति भएको छ। वडा नं. ५ मा ५७.३, वडा नं. ७ मा ५६.५, वडा नं. २ मा ५५.४, वडा नं. १ मा ४९.७ र वडा नं. ३ मा ४६.८ प्रतिशत प्रगति भएको स्वास्थ्य शाखाले जनाएको छ।
स्वास्थ्य शाखा प्रमुख दिपक प्रसाद दाहालले अभियानबाट लक्षित समुदायमा जेई विरुद्धको खोप पहुँच विस्तार भएको बताउनुभयो।
उहाँले जेई संक्रमणबाट बच्न खोपसँगै लामखुट्टेको टोकाइबाट बच्ने, घर वरपरको वातावरण सफा राख्ने र स्वास्थ्यसम्बन्धी सावधानी अपनाउन पनि आग्रह गर्नुभयो।











