दमक । लगातार भइरहेको वर्षा तथा सम्भावित बाढी, डुबान र प्राकृतिक प्रकोपको जोखिमलाई मध्यनजर गर्दै दमक नगरपालिकाले विपद् पूर्वतयारी तथा प्रतिकार्यलाई तीव्र बनाएको छ।
नगर प्रमुख रामकुमार थापाको संयोजकत्वमा शुक्रबार नगर विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिको आकस्मिक बैठक बसेको हो। बैठकमा समितिका सदस्य तथा विशेष आमन्त्रित सदस्यहरूको सहभागिता रहेको थियो।



मौसम पूर्वानुमान महाशाखा तथा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले असोज ९ देखि ११ गतेसम्म कोशी प्रदेशसहित विभिन्न स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरीसहित भारी वर्षाको सम्भावना औँल्याउँदै उच्च सतर्कता अपनाउन आग्रह गरेपछि नगरपालिकाले पूर्वतयारी अघि बढाएको हो।
बैठकले दमकका जोखिमपूर्ण क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सुरक्षित स्थानमा जान, पशुचौपाया, कृषिबाली तथा धनमालको सुरक्षामा ध्यान दिन र सम्भावित क्षति न्यूनीकरणका लागि सतर्क रहन सार्वजनिक सूचना तथा माइकिङमार्फत आग्रह गर्ने निर्णय गरेको छ।
यस्तै, उद्धार, राहत तथा प्रतिकार्यलाई प्रभावकारी बनाउन सुरक्षा निकाय, सरकारी तथा निजी स्वास्थ्य संस्था, नेपाल रेडक्रस, विद्युत प्राधिकरण, नेपाल टेलिकम, सडक डिभिजन, उद्योग वाणिज्य संघ, निर्माण व्यवसायी, सञ्चारकर्मी, टोल विकास संस्था तथा नागरिक समाजलगायतका निकायलाई आवश्यक सामग्रीसहित तयारी अवस्थामा रहन आग्रह गरिएको छ।
नगरपालिकाका १० वटै वडा समितिलाई तत्काल वडा स्तरीय विपद् व्यवस्थापन समितिको बैठक राखी आवश्यक उद्धार तथा प्रतिकार्य सामग्रीको बन्दोबस्त गर्न र सम्बन्धित निकायसँग समन्वय गर्न पनि निर्देशन दिइएको छ।
सम्भावित विपद्पछि नागरिकलाई सुरक्षित स्थानमा राख्न दमक क्षेत्रमा रहेका सरकारी तथा गैरसरकारी संस्थाका सामुदायिक भवनलाई आवश्यकताअनुसार प्रयोग गर्ने व्यवस्था मिलाउन सम्बन्धित निकायलाई जानकारी गराउने निर्णयसमेत बैठकले गरेको छ।











