कमल, झापा । कमलनगर जेसीजले सन् २०२७ मा नेपाल जेसीजको क्षेत्र ‘क’ सम्मेलन कमल गाउँपालिकामा आयोजना गर्न आवश्यक सम्पूर्ण बिडिङ तयारी पूरा गरेको जनाएको छ।
कमल–५ स्थित वनमारा क्याफेमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा कमलनगर जेसीज वर्ष २०२६ का अध्यक्ष जेसी देवराज भण्डारी (महेश)ले सम्मेलन आयोजनाका लागि आवश्यक तयारी पूरा भएको जानकारी दिनुभयो।



चारआली जेसीजको आयोजनामा यही असोज ९ र १० गते हुने सन् २०२६ को क्षेत्र ‘क’ सम्मेलन सफलतापूर्वक सम्पन्न गर्दै सोही सम्मेलनमा सन् २०२७ को क्षेत्र ‘क’ सम्मेलन कमलनगर जेसीजलाई प्रदान गर्ने औपचारिक घोषणा गराउने तयारी गरिएको अध्यक्ष भण्डारीले बताउनुभयो।
सम्मेलन कमल गाउँपालिकामा ल्याउन सके यस क्षेत्रका १८ देखि ४० वर्ष उमेर समूहका युवाको नेतृत्व तथा क्षमता विकासमा महत्वपूर्ण योगदान पुग्ने बिडिङ चेयरपर्सन जेसी नारायण बस्नेतले बताउनुभयो।
उहाँका अनुसार सम्मेलनले कमल गाउँपालिकाका धार्मिक, सांस्कृतिक तथा पर्यटकीय क्षेत्रलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा चिनाउन समेत सहयोग पुग्नेछ।
कमलनगर जेसीजले सम्मेलनलाई केवल जेसीजको कार्यक्रमका रूपमा सीमित नराखी स्थानीय युवा, व्यवसायी, सामाजिक संघसंस्था तथा स्थानीय तहसँगको सहकार्यमा क्षेत्रको पर्यटन, संस्कृति र आर्थिक गतिविधि प्रवद्र्धन गर्ने अवसरका रूपमा अघि बढाउने जनाएको छ।










