सांसद भूमिका श्रेष्ठको अभिव्यक्तिप्रति लैंगिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको ध्यानाकर्षण

दमक । रास्वपा सांसद भूमिका श्रेष्ठले संसद्को शून्य समयमा तेस्रोलिंगी समुदायको स्थापित पहिचानसँग सम्बन्धित विषयमा दिएको अभिव्यक्तिप्रति लैंगिक तथा यौनिक अल्पसङ्ख्यक समुदायले गम्भीर ध्यानाकर्षण जनाएको छ।

‎लिड नेपाल दमककि प्रमुख नुमा लिम्बू साउदेनले वर्षौँको संघर्षबाट स्थापित भएको लैंगिक पहिचानलाई व्यक्तिको व्यक्तिगत अभिव्यक्तिका आधारमा अन्य शब्दावलीतर्फ मोड्ने प्रयास हुन नहुने बताउनुभएको छ।

‎उहाँका अनुसार सर्वोच्च अदालतको निर्देशनात्मक आदेश तथा नेपालको संविधानले लैंगिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको पहिचान र अधिकारलाई स्थापित गरेको अवस्थामा राज्यका कानुन तथा सार्वजनिक संस्थामा प्रयोग हुने शब्दावली परिवर्तन गर्ने विषय व्यक्तिगत अभिव्यक्तिबाट मात्र निर्धारण हुन सक्दैन।

‎साउदेनले ‘तेस्रोलिंगी’ पहिचानमा आफूलाई चिनाउँदै आएका तथा ‘अन्य’ लैंगिक पहिचानमा नागरिकता लिएका समुदायका सदस्यको स्थापित पहिचानलाई सम्मान गर्नुपर्ने बताउनुभयो। सांसद श्रेष्ठले विगतमा प्रयोग गर्दै आएको पहिचान र अहिले प्रयोग गर्नुभएको ‘पारलिंगी’ शब्दको आधारबारे स्पष्ट पार्नुपर्ने उहाँको भनाइ छ।

‎“हामी कुनै व्यक्तिको व्यक्तिगत पहिचान वा अभिव्यक्ति माथि प्रश्न उठाउन खोजेका होइनौँ। तर संसदमा प्रयोग भएको शब्दले समुदायको स्थापित पहिचान, संवैधानिक अधिकार र कानुनी व्यवस्थामा अन्योल सिर्जना गर्ने अवस्था आउनु हुँदैन,” साउदेनले भन्नुभयो।

‎उहाँले संविधान, कानुन र सर्वोच्च अदालतको आदेशबाट स्थापित अधिकार तथा समुदायले आत्मपहिचानका रूपमा प्रयोग गर्दै आएको शब्दावलीको सम्मान गर्न माग गर्नुभएको छ। साथै, संविधान र प्रचलित कानुनमा मान्यता नपाएको ‘पारलिंगी’ शब्द संसद्को आधिकारिक अभिलेखमा प्रयोग भएको भए आवश्यक छानबिन गरी त्यसबारे स्पष्टता कायम गर्न सभामुखसमक्ष आग्रह गर्नुभएको छ।

‎साउदेनले लैंगिक पहिचानसँग सम्बन्धित विषयमा राज्य र समुदायबीच अन्योल सिर्जना हुने अवस्था आउन नदिन सम्बन्धित निकायले स्पष्ट धारणा सार्वजनिक गर्नुपर्ने बताउनुभयो।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय