विर बहादुर तामाङ, कमल । झापाको कमल गाउँपालिकाको नवनिर्मित प्रशासनिक भवनको शुक्रबार औपचारिक उद्घाटन गरिएको छ ।गाउँपालिका अध्यक्ष हुकुमसिंह राईले एक कार्यक्रमका बीच नवनिर्मित प्रशासनिक भवनको उद्घाटन गर्नुभएको हो ।
नयाँ प्रशासनिक भवन सञ्चालनमा आएसँगै गाउँपालिकाबाट प्रदान हुँदै आएका सार्वजनिक सेवाहरूलाई थप व्यवस्थित, सहज र प्रभावकारी बनाउन सहयोग पुग्ने गाउँपालिकाले जनाएको छ ।



स्थानीय तहको संंरचना कार्यान्वयनमा आएपछि गाउँपालिकाको प्रशासनिक कामकाज, विभिन्न शाखा तथा सेवाग्राहीको बढ्दो चापलाई व्यवस्थित गर्न पर्याप्त भौतिक पूर्वाधारको आवश्यकता महसुस हुँदै आएको थियो । सोही आवश्यकतालाई मध्यनजर गर्दै निर्माण गरिएको प्रशासनिक भवनबाट गाउँपालिकाका दैनिक प्रशासनिक तथा विकास सम्बन्धी कामलाई थप व्यवस्थित ढंगले सञ्चालन गर्न सहज हुने अपेक्षा गरिएको छ ।
उद्घाटन कार्यक्रममा गाउँपालिका अध्यक्ष हुकुमसिंह राईले प्रशासनिक भवन केवल कार्यालय सञ्चालन गर्ने भौतिक संरचना मात्र नभई नागरिकलाई प्रभावकारी सेवा दिने महत्वपूर्ण आधार भएको बताउनुभयो । उहाँले नयाँ भवनसँगै गाउँपालिकाबाट प्रदान गरिने सेवाको गुणस्तरमा सुधार ल्याउनुपर्नेमा जोड दिनुभयो ।

अध्यक्ष राईले स्थानीय सरकारको मुख्य जिम्मेवारी नागरिकलाई छिटो, छरितो, पारदर्शी र सहज रूपमा सेवा उपलब्ध गराउनु रहेको उल्लेख गर्दै नयाँ भवनबाट सेवा प्रवाहलाई थप व्यवस्थित बनाउने बताउनुभयो । उहाँले भवन निर्माणमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्ने सबै पक्षप्रति धन्यवाद व्यक्त गर्दै अब भवनको सदुपयोग मार्फत नागरिकको अपेक्षा पूरा गर्ने दिशामा गाउँपालिका केन्द्रित हुने धारणा राख्नुभयो ।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष प्रमिला न्यौपाने तिवारीले प्रशासनिक भवन निर्माण सम्पन्न हुनु गाउँपालिकाको संस्थागत विकासका दृष्टिले महत्वपूर्ण उपलब्धि भएको बताउनुभयो । उहाँले स्थानीय तहको सेवा प्रवाह नागरिकको दैनिक जीवनसँग प्रत्यक्ष जोडिने भएकाले कार्यालयको भौतिक वातावरण पनि सेवामैत्री हुनुपर्ने बताउनुभयो।

उपाध्यक्ष तिवारीले नयाँ भवनबाट एउटै स्थानमा विभिन्न शाखाका सेवा उपलब्ध गराउन सहज हुने र सेवाग्राहीले कार्यालय खोज्दै विभिन्न स्थानमा धाउनुपर्ने अवस्था कम हुने अपेक्षा व्यक्त गर्नुभयो। उहाँले भवनको संरक्षण, सरसफाइ तथा प्रभावकारी व्यवस्थापनमा सबैको ध्यान जानुपर्नेमा समेत जोड दिनुभयो ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत केशवकुमार ढकालले प्रशासनिक भवन निर्माणसँगै कार्यालय सञ्चालनका लागि आवश्यक भौतिक वातावरण तयार भएको बताउनुभयो । उहाँका अनुसार व्यवस्थित कार्यालय संरचनाले कर्मचारीलाई जिम्मेवारी अनुसार काम गर्न सहज बनाउनुका साथै सेवाग्राहीलाई पनि सेवा लिन अनुकूल वातावरण तयार गर्छ ।

ढकालले नयाँ भवनमा शाखा तथा प्रशासनिक कार्यहरूलाई व्यवस्थित गर्दै नागरिकलाई सेवा लिन सहज हुने गरी कार्यालय व्यवस्थापन गरिने बताउनुभयो। उहाँले भवनको उपयोगसँगै सेवा प्रवाहमा प्रविधिको प्रयोग, अभिलेख व्यवस्थापन तथा शाखाहरूबीचको समन्वयलाई पनि प्रभावकारी बनाउँदै लैजानुपर्ने आवश्यकता औँल्याउनुभयो।
कार्यक्रममा वडा नम्बर २ का वडाध्यक्ष अशोक सुब्बाले नयाँ प्रशासनिक भवन गाउँपालिकाको शान र मौलिकता झल्काउने संरचना भएको बताउनुभएको छ। उहाँले भवनले गाउँपालिकाबाट हुने काम, कर्तव्य तथा सेवाग्राहीलाई प्रदान गरिने कार्यलाई अझ चुस्त, दुरुस्त र व्यवस्थित बनाउन गौरव थप्ने विश्वास व्यक्त गर्नुभयो।

वडाध्यक्ष सुब्बाले भवन निर्माणका क्रममा विभिन्न किसिमका टीकाटिप्पणी भए पनि गाउँपालिका अध्यक्ष हुकुमसिंह राईको दृढ संकल्प र अठोटका कारण भवन निर्माण सम्पन्न भएको उहाँले उल्लेख गर्नुभयो। पुरानो भवनमा पानी चुहिनेलगायतका समस्या भोग्नुपर्ने बाध्यता अब हटेको भन्दै वडाध्यक्ष सुब्बाले वडा नम्बर २ को तर्फबाट भवन निर्माणमा योगदान गर्ने सबैप्रति धन्यवाद तथा आभार व्यक्त गर्नुभयो।
त्यस्तै, गाउँपालिकाका पूर्व उपाध्यक्ष बेनु प्रसाद सिवाकोटीले महत्वपूर्ण प्रशासकीय भवन निर्माण सम्पन्न भई उद्घाटन भएकोमा खुसी व्यक्त गर्दै भवन निर्माणमा भूमिका निर्वाह गर्ने गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, जनप्रतिनिधि, कर्मचारी, निर्माण व्यवसायी, प्राविधिक तथा सम्पूर्ण गाउँपालिका परिवारप्रति धन्यवाद व्यक्त गरे।

नवनिर्मित भवन निर्माणको प्राविधिक पक्षबारे गाउँपालिकाका इन्जिनियर सागर यादवले भवन निर्माण निर्धारित प्राविधिक मापदण्डअनुसार सम्पन्न गरिएको जानकारी दिनुभयो। उहाँका अनुसार प्रशासनिक भवन चार तलाको रहेको छ। भवनमा भुइँ तलामा ८ कोठा, पहिलो तलामा ८ कोठा, दोस्रो तलामा ८ कोठा तथा माथिल्लो तलामा हलसहित २ कोठा गरी कुल २६ कोठा रहेका छन्।

उपलब्ध विवरणअनुसार प्रशासनिक भवन निर्माणका लागि तयार गरिएको लागत अनुमान करिब ९ करोड ३८ लाख ७४ हजार रुपैयाँ रहेको थियो। निर्माणका लागि सारा सृष्टि निर्माण सेवा प्रालि, धनकुटा–४, देब्रेबाससँग करिब ६ करोड १ लाख ३९ हजार रुपैयाँ बराबरको सम्झौता गरिएको थियो। सम्झौता रकममध्ये संघीय सरकारको ६० प्रतिशत र कमल गाउँपालिकाको ४० प्रतिशत लागत सहभागिता रहेको विवरणमा उल्लेख छ।

निर्माण सम्झौता २०८१ भदौ २६ गते भएको र सोही दिन कार्यादेश दिइएको थियो । निर्माण सम्पन्न गर्नुपर्ने मिति २०८२ साउन २७ गते तोकिएको विवरणमा उल्लेख छ । भवन निर्माणमा हालसम्म करिब ५ करोड ५० लाख ६८ हजार रुपैयाँ भुक्तानी भएको विवरणसमेत सार्वजनिक गरिएको छ।
नयाँ प्रशासनिक भवनमा गाउँपालिकाका विभिन्न शाखा तथा कार्यालय सञ्चालन भएपछि सेवाग्राहीलाई एउटै प्रशासनिक केन्द्रबाट धेरै प्रकारका सेवा लिन सहज हुने अपेक्षा गरिएको छ। नागरिकता, सामाजिक सुरक्षा, पञ्जीकरण, योजना तथा प्रशासनिक कामसँगै विकास निर्माण, राजस्व, शिक्षा, स्वास्थ्य, कृषि लगायतका स्थानीय तहसँग सम्बन्धित सेवाहरूलाई व्यवस्थित रूपमा सञ्चालन गर्न नयाँ संरचनाले सहयोग पु¥याउने गाउँपालिकाको विश्वास छ ।

स्थानीय सरकारको प्रभावकारिता उसको भौतिक संरचनाभन्दा पनि नागरिकलाई दिने सेवाको गुणस्तरबाट मापन हुने भएकाले भवन सञ्चालनसँगै सेवा प्रवाहमा सुधार ल्याउने चुनौतीसमेत गाउँपालिकासामु रहेको छ । नयाँ भवनलाई सेवाग्राहीमैत्री बनाउँदै पारदर्शी, जवाफदेही र प्रविधिमैत्री प्रशासन सञ्चालन गर्न सकेमा भवन निर्माणको उद्देश्य अझ सार्थक हुने देखिन्छ।
उद्घाटनसँगै कमल गाउँपालिकाले नयाँ प्रशासनिक भवनबाट आफ्नो नियमित कामकाज अघि बढाउने भएको छ । जनप्रतिनिधि र कर्मचारीका लागि व्यवस्थित कार्यस्थल तथा सेवाग्राहीका लागि सहज सेवा केन्द्रका रूपमा भवनलाई विकास गर्ने गाउँपालिकाको लक्ष्य छ । नयाँ भवनसँगै कमल गाउँपालिकाको प्रशासनिक सेवा प्रवाहमा गुणात्मक सुधार आउने अपेक्षा गरिएको छ ।












