विद्यार्थी राजनीतिदेखि कर्मचारी आन्दोलनसम्म, चार दशकपछि महाधिवेशन प्रतिनिधिको मैदानमा तीर्थराज खनाल

झापा । विद्यार्थी जीवनबाट नेपाली कांग्रेसको राजनीतिमा प्रवेश गरेका तीर्थराज खनाल चार दशकभन्दा लामो राजनीतिक तथा कर्मचारी आन्दोलनको अनुभव बोकेर नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा झापा निर्वाचन क्षेत्र नम्बर ५ बाट खुला महाधिवेशन प्रतिनिधिका उम्मेदवार बनेका छन्।

वि.सं. २०३७ सालमा गौरादहबाट नेपाल विद्यार्थी संघको संस्थापक सदस्यका रूपमा सुरु भएको खनालको राजनीतिक यात्रा विद्यार्थी संगठन, लोकतान्त्रिक आन्दोलन, निजामती कर्मचारी संगठन हुँदै कांग्रेसका विभिन्न अधिवेशन तथा निर्वाचन अभियानसम्म निरन्तर अघि बढेको छ।

२०३७ सालमै विद्यार्थी राजनीतिमा प्रवेश

गौरादहमा नेपाल विद्यार्थी संघको संस्थापक सदस्य बनेसँगै खनालले विद्यार्थी राजनीतिमा पाइला राखेका थिए। २०३९ सालमा जनता माध्यमिक विद्यालय, गौरादहको नेविसंघ इकाइ सभापतिको जिम्मेवारी सम्हालेका उनी २०३८–३९ सालमा मुकुन्द ढुंगानाको नेतृत्वमा रहेको नेविसंघ झापा जिल्ला समितिको सदस्यसमेत बने।

त्यसपछि २०४१ सालमा धनकुटा नेविसंघको सचिवको जिम्मेवारी सम्हाले। तत्कालीन नेविसंघ केन्द्रीय सभापति बलबहादुर केसीको उपस्थितिमा डम्बरबहादुर आङ्देम्बेको सभापतित्वमा गठित जिल्ला समितिमा उनी सचिव बनेका थिए।

सत्याग्रहदेखि जनआन्दोलनसम्म

खनालको राजनीतिक यात्रा विद्यार्थी संगठनमा मात्र सीमित रहेन। उनी २०४२ सालको सत्याग्रहमा सहभागी भए भने २०४६ सालको जनआन्दोलनमा समेत सक्रिय भूमिका निर्वाह गरेको बताउँछन्।

निजामती सेवामा कार्यरत रहेकै अवस्थामा गौरादहमा कांग्रेसको झण्डा ठड्याउनेदेखि फागुन ७ गतेको जुलुसको नेतृत्व गर्नेसम्मको भूमिका निर्वाह गरेको उनको दाबी छ।

कर्मचारी संगठनमा पनि नेतृत्व

२०४९ सालमा नेपाल निजामती कर्मचारी संघको केन्द्रीय सदस्यमा निर्वाचित भएपछि कर्मचारी आन्दोलनमा उनको भूमिका थप संस्थागत भयो।

त्यसपछि २०५१ सालमा नेपाल विद्यार्थी संघको उम्मेदवारका रूपमा काठमाडौं शिक्षा क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन सदस्यमा निर्वाचित भएको तथा सोही वर्ष कांग्रेसको शुभेच्छुक संस्था प्रशासन व्यवस्थापन तथा विकास केन्द्र (CAMAD–कामाद) को संस्थापक तथा आजीवन सदस्य बनेको उनले बताएका छन्।

२०६२/६३ को आन्दोलनमा सिंहदरबारभित्र सक्रिय

२०६२/६३ को जनआन्दोलनका क्रममा पनि निजामती सेवामै रहेर आन्दोलनमा सहभागी भएको खनालको भनाइ छ। आन्दोलनका क्रममा गिरफ्तार भई हिरासतमा बस्ने देशभरकै एकमात्र राजपत्रांकित कर्मचारी आफू भएको उनको दाबी छ।

कर्मचारी आन्दोलनका क्रममा तत्कालीन मुख्यसचिव लोकमानसिंह कार्कीलाई कार्यकक्षमा प्रवेश गर्न रोक लगाउनेदेखि सिंहदरबार परिसरमा विरोध आमसभा आयोजना तथा सञ्चालन गर्नेसम्मको भूमिका निर्वाह गरेको खनाल बताउँछन्।

कांग्रेसका अधिवेशनदेखि चुनावी अभियानसम्म

खनालका अनुसार कांग्रेसको आठौँ महाधिवेशन, २०४८ देखि हालसम्मका विभिन्न महाधिवेशन तथा सम्मेलनमा उनी निरन्तर सहभागी हुँदै आएका छन्।

निजामती सेवा तथा सरकारी कामको सिलसिलामा नेपालका ७६ जिल्लासम्म पुगेको अनुभव रहेको बताउने खनालले २०४८ सालपछि भएका आमनिर्वाचनमा सरकारी सेवाबाट बिदा लिएर कांग्रेसको चुनावी प्रचारप्रसारमा सहभागी हुँदै आएको दाबी गर्छन्।

२०८२ फागुन २१ गते सम्पन्न निर्वाचनका क्रममा पनि कांग्रेसको चुनावी अभियानमा सहभागी हुँदै ३२ जिल्ला र ६५ निर्वाचन क्षेत्रमा पुगेको उनले बताएका छन्।

अध्ययनदेखि अन्तर्राष्ट्रिय अनुभवसम्म

राजनीतिक तथा कर्मचारी आन्दोलनसँगै खनालको शैक्षिक र अन्तर्राष्ट्रिय अनुभवसमेत रहेको छ। उनले तीन फरक विषयमा स्नातकोत्तर तथा फरक विश्वविद्यालयबाट तीनवटा बीएड डिग्री हासिल गरेको बताएका छन्।

पर्यटन व्यवस्थापनमा अस्ट्रियाबाट डिप्लोमा गरेका खनाल विभिन्न तालिम, सम्मेलन तथा सेमिनारका क्रममा विश्वका ६ वटै महादेशका ५३ राष्ट्र पुगेको बताउँछन्।

चार दशकको यात्रापछि महाधिवेशन प्रतिनिधिको मैदानमा

चार दशकभन्दा लामो समय विद्यार्थी राजनीति, लोकतान्त्रिक आन्दोलन, कर्मचारी संगठन र कांग्रेसका निर्वाचन अभियानमा सक्रिय रहेको पृष्ठभूमि प्रस्तुत गर्दै खनाल अहिले कांग्रेसको १५औँ महाधिवेशनमा महाधिवेशन प्रतिनिधिको उम्मेदवार बनेका छन्।

उनले आफ्नो उम्मेदवारीलाई व्यक्तिगत आकांक्षाभन्दा पनि लामो राजनीतिक, सामाजिक तथा कर्मचारी आन्दोलनको निरन्तरताका रूपमा प्रस्तुत गरेका छन्।

गौरादहको विद्यार्थी राजनीतिबाट सुरु भएको यात्रा अहिले कांग्रेसको महाधिवेशन प्रतिनिधिको उम्मेदवारीसम्म आइपुगेको छ। चार दशक लामो राजनीतिक अनुभव, कर्मचारी आन्दोलनमा सक्रियता, शैक्षिक योग्यता र देशका विभिन्न भूगोलमा काम गरेको अनुभवलाई आधार बनाउँदै खनाल झापा–५ को खुला महाधिवेशन प्रतिनिधिको प्रतिस्पर्धामा उत्रिएका हुन्।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय