जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकको नवौँ जिल्ला सभाबाट आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम पारित

काभ्रेपलाञ्चोक । जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकको नवौँ जिल्ला सभाले आर्थिक वर्ष २०८३/८४ का लागि प्रस्तावित नीति तथा कार्यक्रम सर्वसम्मत रूपमा पारित गरेको छ।

जिल्ला समन्वय समितिका प्रमुख दीपककुमार गौतमले सभामा प्रस्तुत गर्नुभएको १३ बुँदे नीति तथा कार्यक्रमको मूल नारा “जलवायु उत्थानशील, सुशासित र समन्वित काभ्रेपलाञ्चोक : दिगो समृद्धितर्फको साझा अभियान” रहेको छ।

सभामा जिल्लाका नगरपालिकाका प्रमुख तथा उपप्रमुख, गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष, जिल्ला समन्वय समितिका उपप्रमुख तथा सदस्यहरू, प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख, सरकारी तथा गैरसरकारी संस्थाका प्रतिनिधि, सञ्चारकर्मी तथा नागरिक समाजका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

पारित नीति तथा कार्यक्रममा जलवायु परिवर्तन अनुकूलन तथा जलवायु उत्थानशील काभ्रेपलाञ्चोक निर्माण, विपद् व्यवस्थापन तथा पूर्वतयारी, समन्वय केन्द्रको सुदृढीकरण, विकास नेतृत्व, सन्तुलित विकास र समावेशी समृद्धि, सुशासन तथा नागरिकमैत्री सेवा प्रवाह, परिणाममुखी अनुगमन, उत्तरदायी प्रशासन, वित्तीय अनुशासन, कृषि आधुनिकीकरण, रैथाने बाली संरक्षण, स्थानीय अर्थतन्त्र प्रवर्द्धन, पर्यटन विकास, शिक्षा, सीप तथा नवप्रवर्तन, स्वास्थ्य, सामाजिक न्याय र मानव विकासलगायतका विषयलाई प्राथमिकता दिइएको छ।

त्यस्तै, स्वच्छ, सुरक्षित र व्यवस्थित काभ्रेपलाञ्चोक निर्माणलाई समेत नीति तथा कार्यक्रमको महत्वपूर्ण आधारका रूपमा समेटिएको छ।

सभाले आर्थिक वर्ष २०८३/८४ का लागि तय गरिएका प्राथमिकता, उद्देश्य तथा कार्यक्रमहरूको प्रभावकारी कार्यान्वयनका लागि आवश्यक समन्वय, सहजीकरण र सहयोग गर्ने प्रतिबद्धतासहित नीति तथा कार्यक्रम अनुमोदन गरेको जनाएको छ।

यससँगै स्थानीय तहबाट प्राप्त कन्टिजेन्सी रकम (०.५ प्रतिशत) खर्चलाई व्यवस्थित गर्ने कार्यविधि, २०८० (संशोधन) लाई पनि सभाले अनुमोदन गरेको छ।

जिल्ला मौज्दात कोषअन्तर्गत स्थानीय तहसँगको लागत साझेदारीमा सञ्चालन भएका योजनाहरूमा जिल्ला समन्वय समितिको बोर्ड बैठकको निर्णयअनुसार रकमान्तर गरी खर्च भएको रकम अनुमोदन गर्ने तथा दायित्व सिर्जना भएका रकम खर्च गर्न स्वीकृति प्रदान गर्ने निर्णयसमेत सभाबाट पारित गरिएको छ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय