काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र औषधि व्यवस्था विभागका प्रतिनिधिबीच औषधि आपूर्ति तथा व्यवस्थापनमा देखिएका समस्या र समाधानका उपायबारे छलफल भएको छ।
छलफलका क्रममा क्यान्सरविरुद्ध प्रयोग हुने औषधि तथा इम्युनोसप्रेसन्ट (Immunosuppressant) लगायत जीवनरक्षक औषधिको आपूर्ति र व्यवस्थापनका विषयमा विभिन्न माध्यमबाट प्राप्त गुनासा, तिनको वास्तविक अवस्था तथा समाधानका उपायबारे समीक्षा गरिएको थियो।



यस्तै, औषधि आयात तथा आपूर्तिको अनुमति प्राप्त कम्पनीहरूले आवश्यक औषधि आपूर्ति नगरेको अवस्थामा अपनाउन सकिने कानुनी तथा प्रशासनिक विकल्पबारे पनि विस्तृत छलफल भएको जनाइएको छ।
बैठकले जीवनरक्षक औषधि आयातका लागि अनुमति प्राप्त आयातकर्ताहरूको सूची, पछिल्ला तीन वर्षको आयात विवरण, वार्षिक खपतको तथ्यांक तथा यस्ता औषधि आपूर्तिका लागि अनुमति माग्दै आएका आपूर्तिकर्ताहरूको निवेदनसम्बन्धी विवरण उपलब्ध गराउन औषधि व्यवस्था विभागलाई निर्देशन दिएको छ।
त्यसैगरी, विभागसँग सम्बन्धित सफ्टवेयर प्रणालीको स्तरोन्नति, क्षमता विस्तार तथा वेबसाइटमा उपलब्ध सूचना नियमित रूपमा अद्यावधिक गर्ने विषयमा समेत छलफल केन्द्रित भएको थियो।
मन्त्रालयले औषधिको सहज उपलब्धता सुनिश्चित गर्दै आपूर्ति प्रणालीलाई थप प्रभावकारी र पारदर्शी बनाउन आवश्यक कदम अघि बढाइने जनाएको छ।









