दमक, झापा — राष्ट्रिय प्रजातन्त्र पार्टी अन्तर्गत प्रदेशसभा निर्वाचन क्षेत्रीय कार्यसमिति क्षेत्र नं. ५ (ख), झापाले दमक नगरपालिकालाई २२ बुँदे ज्ञापनपत्र बुझाएको छ।
समितिका अध्यक्ष तारा प्रसाद अधिकारी नेतृत्वको टोलीले नगर प्रमुखलाई ज्ञापनपत्र बुझाउँदै कृषि, स्वास्थ्य, शिक्षा, पूर्वाधार विकास, सुुकुम्बासी व्यवस्थापन तथा स्थानीय सेवा प्रवाहसँग सम्बन्धित विभिन्न विषयमा ध्यानाकर्षण गराएको जनाएको छ।



ज्ञापनपत्रमा कृषकहरूले खेतीको समयमा पर्याप्त मल, बीउ तथा कृषि सामग्री नपाएको उल्लेख गर्दै सहज आपूर्तिको व्यवस्था गर्न माग गरिएको छ। त्यसैगरी वास्तविक सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको उचित व्यवस्थापन गरी जग्गाधनी प्रमाण–पूर्जा उपलब्ध गराउन पहल गर्न आग्रह गरिएको छ।
राप्रपाले स्वास्थ्य क्षेत्रमा नागरिकलाई सहज, सर्वसुलभ तथा निःशुल्क उपचार सेवा उपलब्ध गराउन, दमक नगरपालिकाबाट सञ्चालन हुँदै आएको निःशुल्क स्वास्थ्य बिमालाई निरन्तरता दिन तथा स्वास्थ्य सेवामा देखिएका समस्याको समाधान गर्न माग गरेको छ।
ज्ञापनपत्रमा कृषकले उत्पादन गरेको खाद्यान्न तथा नगदे बालीको उचित मूल्य सुनिश्चित गर्न, स्थानीय तहको बजेट निर्माणमा किसान, मजदुर तथा विपन्न वर्गलाई प्राथमिकता दिन तथा वितरण प्रणालीलाई पारदर्शी बनाउनुपर्ने उल्लेख गरिएको छ।
त्यसैगरी बजारमा बढ्दो मूल्यवृद्धि नियन्त्रण, शिक्षा, स्वास्थ्य र विद्युत क्षेत्रमा थप कर लगाउने निर्णय फिर्ता लिन दबाब दिन, ग्यास आपूर्तिलाई सहज बनाउन तथा विकास निर्माणका काम गुणस्तरीय र समयमै सम्पन्न गर्न माग गरिएको छ।
राप्रपाले महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख भएका बेरुजु रकम असुली प्रक्रिया प्रभावकारी बनाउन, सामुदायिक विद्यालयमा शुल्क असुलीको गुनासो रोक्न तथा घर नक्सा पासलगायतका सेवामा लाग्ने शुल्क जनमैत्री बनाउनुपर्ने विषय पनि उठाएको छ।
यसैगरी दमक बहुउद्देश्यीय पार्क, खेल मैदान, ज्येष्ठ नागरिक पार्क, बाल उद्यान निर्माण, दमक अस्पताललाई थप सुविधा सम्पन्न बनाउने, बजार क्षेत्रमा स्मार्ट बत्ती जडान गर्ने तथा वडा तहमा बजेट वितरणलाई थप प्रभावकारी र समानुपातिक बनाउनुपर्ने माग ज्ञापनपत्रमा समेटिएको छ।
राप्रपाले ज्ञापनपत्रमा समावेश विषयहरूको कार्यान्वयनका लागि नगरपालिकाले आवश्यक पहल गर्नुपर्ने जनाएको छ।










