जनसेवा केन्द्र नेपालको आयोजनामा चण्डेश्वरी क्षेत्रमा बृहत् सरसफाइ कार्यक्रम सम्पन्न

बनेपा — ५४औँ विश्व वातावरण दिवसको अवसरमा जनसेवा केन्द्र नेपालको आयोजनामा बनेपा नगरपालिका–५ स्थित चण्डेश्वरी मन्दिर नजिक रहेको १६ सय सिँढी क्षेत्रमा बृहत् सरसफाइ कार्यक्रम सम्पन्न गरिएको छ।

कार्यक्रममा वडा नं. ५ का वडाध्यक्ष बलराम अधिकारी प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। उहाँले वातावरण संरक्षण मानव जीवनसँग प्रत्यक्ष रूपमा जोडिएको विषय भएको उल्लेख गर्दै “वातावरण जोगिए हामी जोगिन्छौँ” भन्ने सन्देशसहित विश्व वातावरण दिवसको शुभकामना व्यक्त गर्नुभयो।

वडाध्यक्ष अधिकारीले धार्मिक तथा पर्यटकीय महत्व बोकेको चण्डेश्वरी मन्दिर परिसर र १६ सय सिँढीलाई सरसफाइ कार्यक्रमको कार्यक्षेत्र बनाएकोमा आयोजकप्रति धन्यवाद व्यक्त गर्दै बढ्दो आन्तरिक तथा बाह्य पर्यटनसँगै फोहोर व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको उल्लेख गर्नुभयो। यस्ता जनचेतनामूलक कार्यक्रमले वातावरण संरक्षणमा सकारात्मक योगदान पुग्ने उहाँको भनाइ थियो।

कार्यक्रममा जनसेवा केन्द्र नेपालका केन्द्रीय अध्यक्ष सरोज उपाध्याय, उपाध्यक्ष प्रमिला पाण्डे, सचिव विपस्ना शाक्य, कोषाध्यक्ष मोहन गजुरेल तथा सदस्यहरू दिनेशराज खरेल, बालकृष्ण बजगाईं, डिकेन्द्र बस्नेत, रामशरण तिमल्सिना र राजकुमार सापकोटा लगायतको उल्लेखनीय उपस्थिति रहेको थियो।

बनेपा नगरपालिका ५ नं. वडा कार्यालय, काभ्रे एकेडेमी अफ टुरिजम एण्ड होटल म्यानेजमेन्ट, सुपरनोभा तालिम केन्द्र तथा काभ्रे एजुकेशन कन्सल्टेन्सीको संयुक्त सहयोगमा आयोजित कार्यक्रममा करिब ६० जना स्वयंसेवकहरूको सक्रिय सहभागिता रहेको थियो।

केन्द्रीय सदस्य दिनेशराज खरेलले संचालन गर्नुभएको कार्यक्रममार्फत् आयोजकले वातावरण संरक्षण तथा सार्वजनिक स्थलहरूको स्वच्छता प्रवर्द्धन गर्ने उद्देश्यले यस्ता कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिइने जनाएको छ।

सो अवसरमा उपस्थित सम्पूर्णलाई जनसेवा केन्द्रले प्रशंसा पत्र प्रदान गरेको थियो।

    स्वयंसेवकहरु सरसफाई गर्दै 

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय