झापा, मोरङ, सुनसरी र उदयपुरका विभिन्न स्थानबाट प्रहरीले लागू औषध ब्राउन सुगरसहित ८ जनालाई पक्राउ गरेको छ।
झापाको अर्जुनधारा–११ बाट २५ वर्षीय संजोग राई, २५ वर्षीय रुपेश दर्जी र ३७ वर्षीय अमृत दर्जीलाई २७ ग्राम ८३० मिलिग्राम ब्राउन सुगर र मोटरसाइकलसहित पक्राउ गरिएको लागू औषध नियन्त्रण ब्यूरो काँकरभिट्टा र इलाका प्रहरी कार्यालय अनारमनीको टोलीले जनाएको छ।
सुनसरीको भोक्राहा नरसिंह–३ बाट सैफ अली सिद्दिकी २० ग्राम ब्राउन सुगरसहित पक्राउ परेका छन् भने कोशी गाउँपालिका–१ बाट हरी बहादुर श्रेष्ठ ५३० मिलिग्रामसहित पक्राउ परेका छन्।
त्यस्तै मोरङको विराटनगर–१६ बाट समिर चौधरी २१० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ परेका छन्।
उदयपुरको बेलका–१ बाट आर्जु राई र श्याम कुमार कार्कीलाई १५५ मिलिग्राम ब्राउन सुगरसहित प्रहरीले नियन्त्रणमा लिएको छ।
पक्राउ परेका सबैमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



