राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डीपी अर्यालले बालेन्द्र (बालेन) शाहलाई आगामी ५ वर्षका लागि प्रधानमन्त्री बनाउने र रवि लामिछानेले पार्टी सभापति सम्हाल्ने गरी भएको सम्झौता कार्यान्वयन हुने संकेत गरेका छन् । निर्वाचनको परिणाम सार्वजनिक भइरहेका बेला सञ्चारकर्मीहरूसँग कुरा गर्दै उपसभापति अर्यालले पार्टीभित्र भएका आन्तरिक सहमति र सम्झौताहरूलाई रास्वपाले पूर्ण रूपमा पालना गर्ने बताएका हुन् ।
पत्रकारले “बालेन शाह ५ वर्षका लागि प्रधानमन्त्री हुने र रवि लामिछानेले पार्टी सभापति सम्हाल्ने” सम्झौताका बारेमा सोधेको प्रश्नमा अर्यालले भने, “त्यो सम्झौतामा के लेखिएको छ, मैले पनि एकपटक विस्तृत रूपमा हेर्नुपर्छ । मलाई सबै कुरा कण्ठ छैन, तर यदि त्यहाँ लेखिएको छ भने त्यसमा तलमाथि हुँदैन । सम्झौतामा जे उल्लेख छ, त्यही हुन्छ ।”
उनले पार्टीका निर्णयहरू संस्थागत हुने भन्दै कुनै पनि सहमतिबाट पार्टी पछि नहट्ने स्पष्ट पारेका छन् ।
उपसभापति अर्यालले अब बस्ने पार्टीको केन्द्रीय समिति र संसदीय दलको बैठकले थप प्रक्रिया अगाडि बढाउने जानकारी दिए । “अहिले पार्टी निर्माण र विस्तारको क्रममा छ । हाम्रा निर्वाचित सांसदहरू आउनुहुनेछ, संसदीय दल बन्नेछ र वरिष्ठ नेताहरू तथा सभापतिज्यू सहितको केन्द्रीय समितिले यसबारेमा विधिवत् छलफल र निर्णय गर्नेछ,” अर्यालले थपे ।
उनले लोकतान्त्रिक पद्धति र पार्टीको विधान अनुसार हुने निर्णयहरूलाई सबैले मान्नुपर्नेमा जोड दिए।
रास्वपाले चुनावअघि नै बालेन शाहलाई प्रधानमन्त्रीको ‘फेस’ बनाएर निर्वाचनमा होमिएको थियो । अर्यालका अनुसार पार्टीका आगामी बैठकहरूले यसबारे थप ठोस खाका सार्वजनिक गर्नेछन् ।



