दमक । नेपाली कांग्रेसका युवा नेता तथा कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईले पार्टीको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्।
कांग्रेसको विशेष महाधिवेशनमार्फत नेतृत्व चयनको प्रक्रिया अघि बढिरहेका बेला राईले पार्टीमा नयाँ पुस्ताको नेतृत्व स्थापित गर्नुपर्ने धारणा सार्वजनिक गर्दै केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका हुन्।



पार्टी नेतृत्वमा युवा पुस्ताको अर्थपूर्ण सहभागिता र नेतृत्व हस्तान्तरण आवश्यक रहेको बताउँदै आएका राई झापा क्षेत्र नं. ५ बाट महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन्।
यसअघि कोशी प्रदेश समिति सदस्य तथा पार्टी महासमिति सदस्यमा सर्वाधिक मत प्राप्त गरेका राई कांग्रेस संगठनभित्र सक्रिय युवा नेताका रूपमा परिचित छन्। कम्युनिष्ट प्रभाव बलियो रहेको झापाको पश्चिमी क्षेत्रमा पर्ने कमल गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएर उनले स्थानीय तहको नेतृत्वसमेत सम्हालिरहेका छन्।
स्थानीय तहको नेतृत्वसँगै पार्टी संगठन विस्तार र विकासका विषयलाई प्राथमिकतामा राख्दै आएका राईले अब केन्द्रीय तहमा भूमिका विस्तार गर्ने उद्देश्यसहित उम्मेदवारी घोषणा गरेको बताएका छन्।
उनको उम्मेदवारीलाई कांग्रेसभित्र नयाँ पुस्ताको सहभागिता र नेतृत्व हस्तान्तरणको बहससँग जोडेर हेरिएको छ।











