झापाको क्षेत्र नं ५ मा नेपाली कांग्रेसकी उम्मेदवार मन्धरा चिमरियाको जित सहजताको बाटोमा अघि बढेको विश्लेषणसहित यसपटक कांग्रेसले गुमेको बिरासत फर्काउने उदघोष गरेका छन् ।
कांग्रेसका स्थानीय नेता तथा राजनीतिक विश्लेषकहरुले राष्ट्रिय राजनीतिको ध्यान खिचेका दुई उम्मेदवार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र रास्वपाका बालेन्द्र साह पछिल्लो समय एकापसमा धेरै नै आक्रामक शैलीमा उत्रिँदा उनीहरु दुवैको बिकल्पमा कांग्रेस उम्मेदवारले जितको सम्भावनालाई नजिकबाट पछ्याउन सफल भएको बताएका हुन् ।
दमकका पुराना स्थायी बासिन्दा, सामाजिक तथा राजनीतिक क्षेत्रका विश्लेषक एवं साहित्यकार प्रकाश बुढाथोकी कांग्रेसका लागि यसपटक झापा ५ आश्चर्यजनक परिणाम हात पार्ने मौका रहेको बताउँछन् ।
बुढाथोकी भन्छन– केपी र बालेन एकापसमा हिलो छ्यापाछाप गरिरहेका छन् मतदाताहरुको मनोविज्ञान बैकल्पिक उम्मेदवारतिर केन्द्रित भएको छ, यसले यहाँको चुनावी परिणाम अहिले सम्म आंकलन गरिएको भन्दै फरक रुपमा ल्याइदिन सक्ने सम्भावना देखिन्छ । यो पल्ट कांग्रेसले २०५६ को आम चुनावपछिको उपचुनावमा डा. गोपाल कोइरालाको जितलाई स्मरण गराइरहेको र गुमेको बिरासतलाई फर्काउन सक्ने अडकल गर्न सकिने बुढाथोकीको भनाई छ ।
नेपाली कांग्रेसका बैचारिक युवा नेता एवं निकट राजनीतिक समिक्षक श्याम प्रसाद आचार्यको बुझाईमा गणितीय हिसाबले यसअघि यस क्षेत्रको उपविजेता बन्दै आएको कांग्रेस यसपटक राष्ट्रिय राजनीतिमा आएको परिवर्तन र बदलिएको कांग्रेस नेतृत्वले चुनावका सन्मुखमा अघि सारेका दश भिजन , उम्मेदवारीमा समावेशीता जस्ता कारणले यसपटक यहाँँ विजेता बन्न सक्ने सम्भावना बढेको छ ।
आचार्य भन्छन– यहाँ खस्ने लगभग एक लाख मत अहिले भन्ने गरिएका प्रतिस्पर्धी केपी र बालेनलाई मात्रै जाने जसो गरि हचुवाका भरमा जुन विश्लेषणहरु गरि मिडियामा ल्याइएको छ त्यो आफैंमा त्रुटिपूर्ण छ ।
लोकतन्त्रमा हरेक नागरिकले आफूले रोजेको, आस्था राखेको दलमा मत प्रकट गर्ने गरेको इतिहास छ । यसअघिका निर्वाचनमा यो क्षेत्रमा एमाले बाहेकका दलहरुले आफ्नो चुनाव चिन्हमा मत नहालेका र अरु दलहरुले समेत आशिंक रुपमा एमालेलाई मत हाल्नु पर्ने बाध्यात्मक अवस्था सिर्जना हुने गरेकोमा यो बर्ष सबै दलका आआफ्नै उम्मेदवार चुनावी मैदानमा रहेका र आक्रमक प्रचार प्रसारमा उत्रिरहेका कारण यसपटक यहाँको धेरै भन्दा धेरै मत कम्तीमा पनि ७ दलका भागमा विभाजित हुने निश्चीत छ । कांग्रेसले महिला उम्मेदवारलाई यहाँ अघि सार्दै गर्दा अन्य कुनै पनि दलले महिला उम्मेदवार नउठाएका कारण पनि महिला उम्मेदवारको पक्षमा स्वतस्फूर्त माहोल बन्दै गएको विश्लेषण हुन थालेको छ ।
महिला, बालबालिकाको अधिकार र न्यायका लागि निरन्तर क्रियाशील कांग्रेस नेतृ मन्धराको सक्रियता समेत व्यापक रुपमा देखिएकाले पनि जितको सम्भावना प्रतिशत बढेको कांग्रेसका युवा नेता एवं महासमिति सदस्य अइन्द्र केरुङका तर्क छ । केरुङको बुझाईमा यो क्षेत्रमा कांग्रेसले यसपटक अनपेक्षित परिणाम हासिल गर्नेछ ।
कांग्रेसले बिगतमा अन्य दलसँग गरेको गठबन्धन वा चुनावी सहकार्यका कारण असन्तुष्ट नेता, कार्यकर्ताहरु र कांग्रेसका शुभचिन्तकहरु यसपटक देशैभर आफ्नै चुनाव चिन्हमा मत खसाल्न पाउने अवसरका कारण उत्साहित भएको र यसपटक कांग्रेसको शत प्रतिशत मतमा उम्मेदवारको सामाजिक योगदान, स्थानीयता र पृष्ठभुमी समेतको मतदाताले उच्च मुल्याकंन गर्नेमा आशावादी रहेको कांग्रेस महासमिति सदस्य एवं गौरादह नगरपालिकाका पूर्व मेयर रोहितकुमार साह बताउँछन् ।
उम्मेदवार चिमरिया स्वयं पनि आफ्नो जित सहज बन्दै गएको अनुभूति सुनाउँछिन् । चिमरिया भन्छिन– धेरै मतदाताले तपाइँ यही ठाउँ, यही माटोमा चिनिएको र यहींको सेवामा लागेको महिला आउनु भएको छ हामी जिताएर पठाउँछौं भनिरहनु भएको छ , यसले मलाई एकदमै आशावादी र उत्साहित बनाएको छ ।
उम्मेदवार चिमरियाले झापा ५ का मतदाताहरुमाझ प्रतिशोध र प्रतिरोधको लागि उत्रिएका उम्मेदवारहरुको बिकल्पका रुपमा आफ्नो उम्मेदवारीले सहज बनाइदिएको प्रतिक्रिया पनि मतदाताहरुले जनाइरहेका बताइन् ।
यहाँ कुनै राजनीतिक अभ्यास बिनानै एकैचोटी प्रधानमन्त्रीको सपना देखेर आएका उम्मेदवार र बारबार प्रधानमन्त्री बन्ने सपना साँचेर आएका उम्मेदवार छन, उहाँहरुको उद्धेश्य र लक्ष्य सत्ता , प्रतिशोध मात्रै देखिन्छ जनताको सेवालाई अलिकति पनि महत्व दिनु भइरहेको छैन । मैंले यही क्षेत्रमा रहेर सामाजिक सेवामा दिएको परिचयनै मेरो जितको आधार हो, उनले भनिन् ।




