काठमाडौं — प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न महत्वपूर्ण निर्णयहरू गरेको छ।
बैठकले ‘Integrated Water and Sewerage Management’ क्षेत्रमा लगानीका लागि एसियाली विकास बैंकबाट प्राप्त हुने ११५ मिलियन अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋणसम्बन्धी सम्झौता अघि बढाउने निर्णय गरेको छ। यसका लागि आवश्यक वार्ता गर्न अर्थ मन्त्रालयका सहसचिवको नेतृत्वमा वार्ता टोली गठन गरिने भएको छ।
त्यस्तै, २०७५ भदौ २१ गतेको मन्त्रिपरिषद् निर्णयअनुसार महाराजगञ्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको जग्गा राष्ट्रपतिको नाममा हस्तान्तरण गर्ने भनिएको व्यवस्था संशोधन गर्दै सो जग्गा पुनः प्रतिष्ठानकै प्रयोगमा रहने निर्णय गरिएको छ।
यसैगरी, सरकारी निकायहरूमा प्रयोग भइरहेका सफ्टवेयर तथा सूचना प्रविधिसम्बन्धी अवस्थाको अध्ययन गर्न सूचना तथा सञ्चार प्रविधि सल्लाहकारको संयोजकत्वमा अध्ययन कार्यदल गठन गर्ने निर्णय पनि बैठकले गरेको छ।
सरकारले यी निर्णयमार्फत पूर्वाधार विकास, संस्थागत व्यवस्थापन तथा सूचना प्रविधि क्षेत्रमा सुधारलाई प्राथमिकता दिएको जनाएको छ।



