कमल — कमल गाउँपालिकाले महिला स्वास्थ्यलाई उच्च प्राथमिकतामा राख्दै सञ्चालन गरेको निःशुल्क महिला स्वास्थ्य शिविर प्रभावकारी रूपमा सम्पन्न भएको छ।
गाउँपालिका अध्यक्ष हुकुम सिंह राईको सक्रिय पहल तथा निरन्तर अनुगमनमा सञ्चालन गरिएको उक्त शिविर प्रजनन स्वास्थ्य सेवा अन्तर्गत आयोजना गरिएको हो। शिविरमार्फत ग्रामीण भेगका महिलाहरूलाई घरआँगनमै विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराइएको छ।
अध्यक्ष राई स्वयं कार्यक्रमस्थलमा पुगेर सेवाको निरीक्षण तथा अनुगमन गरेका थिए। उनले स्वास्थ्यकर्मीहरूसँग प्रत्यक्ष छलफल गर्दै सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन निर्देशन दिएका थिए। स्थानीय सरकार नागरिकको आधारभूत स्वास्थ्य अधिकारप्रति प्रतिबद्ध रहेको सन्देश दिन यस्ता कार्यक्रम महत्वपूर्ण हुने उनको भनाइ थियो।
विविध स्वास्थ्य सेवा एकै ठाउँमा
आधारभूत स्वास्थ्य सेवा केन्द्रको प्राविधिक समन्वय तथा गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा सम्पन्न शिविरमा प्रजनन स्वास्थ्य सेवा, पाठेघरसम्बन्धी समस्या परीक्षण, पाठेघरको मुखको क्यान्सर परीक्षण (VIA), स्तन परीक्षण, आङ खस्ने समस्या, परिवार नियोजन सेवा, यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी समस्या (STI, PID) तथा फिस्टुलालगायत महिला रोगसम्बन्धी विविध सेवाहरू प्रदान गरिएको थियो। विशेषगरी क्यान्सरको प्रारम्भिक परीक्षणलाई प्राथमिकतामा राखिएको थियो।
शिविरमा डा. रेश्मा दाहालसहित सी.एएनएम. निरीक्षक हीमा देवी मगर, सी.एएनएम. सबिता गुरुङ, एएनएम. बिन्द्रा राईलगायत अनुभवी स्वास्थ्यकर्मी तथा महिला स्वास्थ्य स्वयंसेविकाहरूले सेवा प्रदान गरेका थिए। सहभागी महिलाहरूले स्वास्थ्य परीक्षणसँगै परामर्श र आवश्यक औषधि निःशुल्क प्राप्त गरेका थिए।
४१ महिला प्रत्यक्ष लाभान्वित
आधारभूत स्वास्थ्य सेवा केन्द्र, कमल–७ का प्रमुख अमृतबहादुर लिम्बूका अनुसार उक्त शिविरबाट ४१ जना महिलाहरू प्रत्यक्ष लाभान्वित भएका छन्। स्थानीय महिलाहरूले आफ्नै वडामै सेवा पाउँदा समय, खर्च र दूरीको समस्या समाधान भएको बताएका छन्।
स्वास्थ्य शाखा प्रमुख दिपक प्रसाद दाहालका अनुसार गाउँपालिकाले पछिल्लो समय समुदाय केन्द्रित स्वास्थ्य कार्यक्रमलाई प्राथमिकतामा राख्दै सेवा विस्तार गर्दै आएको छ। यस्ता कार्यक्रमले ग्रामीण महिलाहरूमा स्वास्थ्य सचेतना अभिवृद्धि गर्नुका साथै रोगहरूको समयमै पहिचानमा महत्वपूर्ण योगदान पुर्याइरहेका छन्।
अन्य वडामा पनि विस्तार
गाउँपालिकाले सञ्चालन गरेको महिला स्वास्थ्य शिविर कमल–३ र कमल–१ मा समेत सम्पन्न भइसकेको छ, जहाँ क्रमशः ८६ र ४१ जना महिलाहरू लाभान्वित भएका छन्। आगामी दिनमा यस्ता कार्यक्रमलाई थप विस्तार गरिने गाउँपालिकाले जनाएको छ।
लखनपुर स्वास्थ्य चौकीमा MSS अभिमुखीकरण सम्पन्न
यसैबीच, कमल गाउँपालिका–६ स्थित लखनपुर स्वास्थ्य चौकीमा न्यूनतम सेवा मापदण्ड (MSS) सम्बन्धी अभिमुखीकरण तथा समीक्षा कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा अध्यक्ष हुकुम सिंह राईको सहभागिता रहेको थियो। उनले स्वास्थ्य सेवा गुणस्तर सुधारलाई प्राथमिकतामा राख्दै मापदण्डअनुसार सेवा प्रवाह कडाइका साथ कार्यान्वयन गर्न निर्देशन दिएका थिए। साथै, नयाँ भवनबाट छिट्टै सेवा सञ्चालन हुने जानकारी दिँदै अझ व्यवस्थित र गुणस्तरीय सेवा प्रदान गरिने बताएका छन्।
कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख दिपक प्रसाद दाहाल, स्वास्थ्य चौकी व्यवस्थापन समितिका पदाधिकारी तथा कर्मचारीहरूको उपस्थिति रहेको थियो। स्वास्थ्य चौकी प्रमुख विशर्जन मोक्तानका अनुसार अघिल्लो तथा चालु आर्थिक वर्षको सेवा मूल्यांकनको समीक्षा गरिएको थियो।




