कमल, झापा । झापाको कमल गाउँपालिकामा सञ्चालन भइरहेको जापानिज इन्सेफलाइटिस (जे.ई.) विरुद्धको विशेष खोप अभियान अन्तिम चरणमा पुगेको छ। २०८३ असोज ५ गतेदेखि सञ्चालन भइरहेको अभियानअन्तर्गत असोज १५ गतेसम्म १८ हजार ८३६ जनाले खोप लगाएका छन्। यो कुल २६ हजार ४६८ जना लक्षित जनसंख्याको ७१.२ प्रतिशत हो।
अभियानअन्तर्गत खोप लगाउनेमध्ये ३० देखि ६० वर्ष उमेर समूहका १३ हजार ७९५ जना र ६० वर्षभन्दा माथिका ५ हजार ४१ जना रहेका छन्। त्यसैगरी, खोप लगाउनेमा १० हजार ९२२ जना महिला र ७ हजार ९१४ जना पुरुष रहेका छन्।



वडागत खोप प्रगतिअनुसार कमल गाउँपालिका–३ मा सबैभन्दा बढी ८२.१ प्रतिशतले खोप लगाएका छन्। त्यस्तै, कमल–६ मा ८०.७ प्रतिशत, कमल–१ मा ७४.९ प्रतिशत, कमल–७ मा ७०.५ प्रतिशत, कमल–५ मा ६५.७ प्रतिशत, कमल–४ मा ६५.१ प्रतिशत र कमल–२ मा ६२.६ प्रतिशत खोप प्रगति भएको छ।
आज अन्तिम दिन, पाँच स्थानबाट खोप सेवा
अभियानको अन्तिम दिन शुक्रबार (असोज १६ गते) पनि लक्षित नागरिकलाई खोप सेवा उपलब्ध गराइएको छ। आज कमल नगर अस्पताल, आधारभूत स्वास्थ्य सेवा केन्द्र कमल–३ (केर्खा), आधारभूत स्वास्थ्य सेवा केन्द्र कमल–७ (रंगपुर), सामुदायिक स्वास्थ्य इकाइ (सिम्ले), कमल–५ र लखनपुर स्वास्थ्य चौकीबाट खोप सेवा सञ्चालन भइरहेको छ।
कमल गाउँपालिकाका अध्यक्ष तथा पालिका खोप समन्वय समितिका संयोजक हुकुमसिंह राईले खोप लगाउन बाँकी रहेका ३० वर्षमाथिका लक्षित नागरिकलाई आजै नजिकको खोप केन्द्रमा उपस्थित भई खोप लगाउन आग्रह गरेका छन्। अभियानको अन्तिम दिन भएकाले खोप लगाउन छुटेका नागरिकलाई यो अवसरको सदुपयोग गर्न उनले अनुरोध गरेका हुन्।
अभियानलाई प्रभावकारी बनाउन गाउँपालिकाका जनप्रतिनिधि, स्वास्थ्यकर्मी, स्वास्थ्य संस्था, महिला स्वास्थ्य स्वयंसेविका, शिक्षक, कर्मचारी तथा स्थानीय समुदायको सक्रिय सहभागिता रहेको अध्यक्ष राईले जानकारी दिए। नागरिकलाई सहज रूपमा खोप सेवा उपलब्ध गराउने उद्देश्यले विभिन्न स्थानमा खोप केन्द्र सञ्चालन गरी अभियानलाई समुदायस्तरसम्म पुर्याइएको उनले बताए।
अध्यक्ष राईले अभियानमा उत्साहपूर्वक सहभागी भई खोप लगाउने सम्पूर्ण नागरिकप्रति धन्यवाद व्यक्त गर्दै खोप लगाउन बाँकी रहेका लक्षित नागरिकलाई आजै नजिकको खोप केन्द्रमा पुगेर खोप लगाउन पुनः आग्रह गरेका छन्।
‘जे.ई. विरुद्धको खोप—आफ्नो सुरक्षा, परिवारको सुरक्षा र समुदायको सुरक्षा’ भन्ने सन्देशसहित गाउँपालिकाले अभियानको अन्तिम दिन खोप लगाउन छुटेका सबै लक्षित नागरिकलाई खोप सेवामा सहभागी हुन अनुरोध गरेको छ।











