कमलमा जे.ई. खोप अभियान : १९ हजार ७० जनाले लगाए खोप

कमल, झापा । जापानिज इन्सेफ्लाइटिस (जे.ई.) विरुद्धको विशेष खोप अभियानअन्तर्गत कमल गाउँपालिकामा १९ हजार ७० जना नागरिकले खोप लगाएका छन्। २०८३ असोज ५ गतेदेखि १५ गतेसम्म सञ्चालन गरिएको अभियानमा कुल लक्षित २६ हजार ४६८ जनामध्ये ७२.१ प्रतिशतले खोप लगाएका हुन्।

खोप लगाउनेमध्ये ११ हजार ४२ जना महिला र ८ हजार २८ जना पुरुष रहेका छन्। उमेर समूहअनुसार ३० देखि ६० वर्ष उमेर समूहका १३ हजार ९९३ जना तथा ६० वर्षमाथिका ५ हजार ७७ जनाले जे.ई. विरुद्धको खोप लगाएका छन्।

३० वर्षमाथिका नागरिकलाई लक्षित गरी सञ्चालन गरिएको अभियानको शुभारम्भ कमल गाउँपालिका अध्यक्ष तथा पालिका खोप समन्वय समितिका अध्यक्ष हुकुमसिंह राईले स्वयं खोप लगाएर गरेका थिए।

अभियानलाई प्रभावकारी बनाउन स्वास्थ्यकर्मी, जनप्रतिनिधि, शिक्षक, महिला स्वास्थ्य स्वयंसेविका, कर्मचारी तथा स्वयंसेवकलाई परिचालन गरिएको गाउँपालिकाको स्वास्थ्य शाखाले जनाएको छ। वडा तहमा सूचना प्रवाह, नागरिकलाई खोप केन्द्रसम्म ल्याउने, केन्द्र व्यवस्थापन तथा खोप सेवा प्रदान गर्ने कार्यमा उनीहरूको सक्रिय सहभागिता रहेको थियो।

अध्यक्ष राईले लक्षित समूहका कुनै पनि नागरिक खोपबाट नछुटून् भन्ने उद्देश्यले स्वास्थ्यकर्मी तथा जनप्रतिनिधिबीच समन्वय र सहकार्यमा जोड दिइएको बताए।

“जे.ई.बाट नागरिकलाई सुरक्षित राख्न खोप अभियानलाई प्रभावकारी बनाउनु हामी सबैको साझा जिम्मेवारी हो। लक्षित समूहका कोही पनि नागरिक खोपबाट छुट्न नहुने गरी स्वास्थ्यकर्मी, जनप्रतिनिधि, स्वयंसेवक र शिक्षकलाई परिचालन गरेका छौँ। नागरिकको स्वास्थ्य सुरक्षा नै स्थानीय सरकारको पहिलो प्राथमिकता हो,” अध्यक्ष राईले भने।

निर्धारित अवधिपछि पनि छुटेका लक्षित नागरिकलाई खोपको पहुँचमा ल्याउन असोज १६ गते विभिन्न स्थानमा थप खोप केन्द्र सञ्चालन गरिएको थियो। कमल–२ स्थित कमल नगर अस्पताल, कमल–३ को केर्खा बजार तथा आधारभूत स्वास्थ्य सेवा केन्द्र भवन, कमल–५ को सामुदायिक स्वास्थ्य इकाइ सिम्ले, कमल–६ को लखनपुर स्वास्थ्य चौकी र कमल–७ को आधारभूत स्वास्थ्य सेवा केन्द्र भवनमा खोप सेवा सञ्चालन गरिएको गाउँपालिकाले जनाएको छ।

अभियानका क्रममा गाउँपालिकाका जनप्रतिनिधि, स्वास्थ्य कार्यालय झापा, स्वास्थ्य निर्देशनालय, विश्व स्वास्थ्य संगठन (WHO) तथा गाउँपालिकाको स्वास्थ्य शाखाको टोलीले विभिन्न खोप केन्द्र तथा स्वास्थ्य संस्थाको स्थलगत अनुगमनसमेत गरेको थियो। अनुगमनका क्रममा खोप सेवाको अवस्था, नागरिकको सहभागिता, लक्षित समूहको पहुँच तथा स्वास्थ्यकर्मीको परिचालनबारे जानकारी लिइएको थियो।

स्वास्थ्य शाखाले ७२.१ प्रतिशत खोप प्रगतिलाई सन्तोषजनक उपलब्धिका रूपमा लिएको जनाएको छ। अभियान सफल बनाउन स्वास्थ्यकर्मी, जनप्रतिनिधि, शिक्षक, महिला स्वास्थ्य स्वयंसेविका, कर्मचारी, स्वयंसेवक, सुरक्षाकर्मी तथा सञ्चारकर्मीको सहयोग महत्वपूर्ण रहेको गाउँपालिकाले जनाएको छ।

कमल गाउँपालिकाले जे.ई. विरुद्धको खोप लगाउन बाँकी रहेका ३० वर्षमाथिका लक्षित नागरिकलाई नजिकको उपलब्ध खोप केन्द्रमा पुगेर यथाशीघ्र खोप सेवा लिन आग्रह गरेको छ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय