कमल गाउँपालिकामा १० लाख बराबरका स्वास्थ्य सामग्री भित्रिए, सेवा प्रवाह थप सुदृढ हुने अपेक्षा

झापा । कमल गाउँपालिकाका अध्यक्ष हुकुम सिंह राई ले कोशी प्रदेश सरकारमार्फत स्वास्थ्य मन्त्री मान बहादुर लिम्बू बाट करिब १० लाख रुपैयाँ बराबरका अत्यावश्यक स्वास्थ्य सामग्री भित्र्याउन सफल भएका छन्।

प्राप्त सामग्रीहरूमा अक्सिजन सिलिन्डर (१० लिटर), अक्सिजन कन्सेन्ट्रेटर, नेबुलाइजेसन सेट, ईसीजी मेसिन, अटोक्लेभ मेसिन, बी.पी. सेट, पल्स अक्सिमिटर, पीपीई किट तथा डेलिभरी बेड लगायतका स्वास्थ्य सामग्री तथा उपकरणहरू रहेका छन्।

उक्त सामग्रीहरू कमल नगर अस्पताल, लखनपुर स्वास्थ्य चौकी, आधारभूत स्वास्थ्य सेवा केन्द्र तथा सामुदायिक स्वास्थ्य इकाइहरूमा वितरण गरिनेछ। यसबाट स्थानीय बासिन्दाले गाउँमै आधारभूत तथा आवश्यक स्वास्थ्य सेवा अझ सहज रूपमा प्राप्त गर्ने अपेक्षा गरिएको अध्यक्ष राईले बताउनुभयो।

कोशी प्रदेश सरकारद्वारा पौष महिनामा कमल नगर अस्पतालमा मोबाइल स्वास्थ्य शिविर सञ्चालन गरिएको थियो। सो अवसरमा स्वास्थ्य मन्त्री मान बहादुर लिम्बूले कमल गाउँपालिकाको स्वास्थ्य सेवा तथा कमल नगर अस्पतालको निरीक्षण गरेका थिए। उक्त निरीक्षणकै क्रममा कमल गाउँपालिकामा आवश्यक स्वास्थ्य सामग्री उपलब्ध गराउने प्रतिबद्धता जनाइएको थियो, जसअनुसार अध्यक्ष राईको निरन्तर पहलमा ती सामग्रीहरू प्राप्त भएको मन्त्री लिम्बूले बताउनुभयो।

अध्यक्ष राईले स्वास्थ्य सामग्री उपलब्ध गराइ सहयोग गरेकोमा स्वास्थ्य मन्त्री लिम्बूप्रति विशेष धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि प्रदेश सरकार, स्वास्थ्य मन्त्रालय तथा मन्त्री लिम्बूबाट निरन्तर साथ र सहयोग रहने विश्वास व्यक्त गर्नुभयो।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय