सूर्योदय आधारभूत विद्यालयका कक्षामा ‘बुक कर्नर’, ३५० पुस्तक हस्तान्तरण

दमक । विद्यार्थीमा पठन संस्कृतिको विकास गर्ने उद्देश्यले रोटरी क्लब अफ दमकले झापाको गौरादह नगरपालिका–३ स्थित सूर्योदय आधारभूत विद्यालयका प्रत्येक कक्षामा ‘बुक कर्नर’ स्थापना गरी ३५० थान पुस्तक हस्तान्तरण गरेको छ।

रोटरी क्लब अफ दमकको शैक्षिक उत्तरदायित्वअन्तर्गत गरिएको यस पहलले विद्यार्थीलाई पाठ्यपुस्तकबाहिरका विषयमा अध्ययन गर्ने, नयाँ ज्ञान हासिल गर्ने तथा सिर्जनशीलता विकास गर्ने अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ।

पुस्तक सङ्कलन अभियान रोटरी क्लब अफ दमकका सदस्य युवराज निरौलाको संयोजकत्वमा सञ्चालन गरिएको थियो। अभियानमा इन्टर्याक्ट क्लब अफ जेम्सले समेत सहयोग गरेको थियो।

रोटा वर्ष २०२६–२७ का अध्यक्ष सागर श्रेष्ठको अध्यक्षतामा विद्यालयको सभाहलमा आयोजित कार्यक्रममा गौरादह नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सुवेदी प्रमुख अतिथि थिए।

कार्यक्रममा नगरपालिकाका शिक्षा शाखा प्रमुख विदुर आचार्य, शिक्षक–अभिभावक समितिका अध्यक्ष होमप्रसाद उप्रेती, रोटरी क्लब अफ दमकका निवर्तमान अध्यक्ष केशव अग्रवाल तथा रोटा वर्ष २०२७–२८ का अध्यक्ष भेनस श्रेष्ठलगायतको उपस्थिति थियो।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक लीलानाथ गौतम, कार्यक्रम संयोजक युवराज निरौला, विदुर आचार्य, कृष्णप्रसाद सुवेदी र सागर श्रेष्ठले विद्यार्थीमा पठन संस्कृतिको विकास तथा कक्षाकोठामा बुक कर्नरको प्रभावबारे धारणा राखेका थिए।

विद्यालयका कक्षाकोठामै पुस्तक उपलब्ध भएपछि विद्यार्थीलाई मोबाइलभन्दा पुस्तकतर्फ आकर्षित गर्न सहयोग पुग्ने विश्वास आयोजकले व्यक्त गरेका छन्।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय