दमकमा जनप्रतिनिधिको कार्यशैलीप्रति नेकपाको असन्तुष्टि

दमक । नेपाली कम्युनिस्ट पार्टी दमक नगर समितिले वर्तमान जनप्रतिनिधिहरूको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै प्रेस वक्तव्य सार्वजनिक गरेको छ।

पार्टीले जारी गरेको वक्तव्यमा नेपालको संविधानले निर्दिष्ट गरेको संघीयता र स्थानीय तहको महत्वलाई स्मरण गराउँदै जनताबाट निर्वाचित जनप्रतिनिधिहरूले अपेक्षाअनुसार काम गर्न नसकेको उल्लेख गरिएको छ। विगत स्थानीय तह निर्वाचनमा फरक विचारधाराबीच गठबन्धन गरेर नेतृत्व जिताएको भए पनि पछिल्लो समय नगरमा अपेक्षित विकास र सेवा प्रवाह हुन नसकेको आरोप लगाइएको छ।

वक्तव्यमा नगरप्रमुख नेतृत्वको कार्यशैलीप्रति प्रश्न उठाउँदै जनतामाझ दिएको ‘डेलिभरी’ कमजोर भएको, कामभन्दा बढी नाटकीय शैलीमा प्रस्तुत हुने प्रवृत्ति बढेको आरोपसमेत लगाइएको छ। जनप्रतिनिधिहरूको ध्यान जनसेवाभन्दा पनि आगामी निर्वाचनतर्फ केन्द्रित भएको दाबी गरिएको छ।

त्यस्तै, स्थानीय तहको निर्वाचनमा उम्मेदवारले चिन्ह प्रयोग गर्ने राजनीतिक पार्टीसँग आबद्धता देखाउने भए पनि विजयी भएपछि पार्टी परित्याग गरेर व्यक्तिगत स्वार्थअनुसार अघि बढ्ने प्रवृत्ति संविधानको मर्मविपरीत रहेको टिप्पणी गरिएको छ।

पार्टीले यस्ता गतिविधिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै आगामी दिनमा जनहित केन्द्रित निर्णय लिन र जिम्मेवार बन्न जनप्रतिनिधिहरूलाई आग्रह गरेको छ। साथै, यस्ता प्रवृत्तिले दीर्घकालीन असर पार्ने चेतावनी पनि दिएको छ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय