नेकपाको चुनावी समीक्षा सुरु: तल्लो तहसम्म एकता र महाधिवेशनको तयारी

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी चुनावी समीक्षासँगै तल्ला तहको पार्टी एकता हुँदै महाधिवेशनसम्म जाने गरी गृहकार्यमा जुटेको छ । १६५ वटै निर्वाचन क्षेत्रमा निर्वाचनको समीक्षा सुरु भएको छ । निर्वाचन समीक्षासँगै एकता प्रक्रियालाई टुंग्याउने गृहकार्य भइरहेको नेताहरूले बताएका छन् ।

निर्वाचन क्षेत्रस्तरको समीक्षा प्रतिवेदन केन्द्रमा आइपुगेपछि सचिवालय बैठक बसेर समीक्षा गर्ने र बाँकी एकता प्रक्रिया टुंग्याइने सचिवालयका सचिव प्रमेश हमालले जानकारी दिए । एकताका बाँकी काम छिट्टै टुंग्याउने उनको भनाइ छ । ‘एकताको बाँकी काम छिट्टै टुंग्याउने गरी गृहकार्य सुरु भएको छ । निर्वाचनका कारण एकता प्रक्रियाले पूर्णता पाएको छैन । अब पार्टीका तल्ला तह र जनसंगठनहरूको एकता प्रक्रिया अघि बढ्छ,’ उनले भने ।

तत्कालीन माओवादी, एकीकृत समाजवादीसहित २६ दल र समूह मिलेर नेकपा बनेको हो । गत ०७९ को निर्वाचनमा माओवादीको ३२ र एकीकृत समाजवादीको १० सिट थियो । २१ फागुनको निर्वाचनबाट नेकपा १७ सिटमा सीमित भएको छ । नेकपाले प्रत्यक्षमा आठ र समानुपातिकमा करिब सवा आठ लाख मतसहित नौ सिट जितेको छ ।

निर्वाचनमा भावनात्मक विषयले काम गरेकाले नीति, विचार, सिद्धान्त, एजेन्डा र उम्मेदवारको विषय गौण बनेको नेकपाको प्रारम्भिक निष्कर्ष छ । मुख्य शक्ति संगठन, नीति, विचार, सिद्धान्त र एजेन्डा नै भएकाले पार्टी एकतालाई तल्लो तहसम्म पुर्‍याएर संगठनलाई प्रभावकारी बनाउने नेताहरू बताउँछन् । रास्वपाप्रति देखिएको जनलहरका कारण पार्टीले निर्वाचनमा धक्का खाएको विश्लेषण नेताहरूको छ । पार्टी रूपान्तरण, पुनर्गठन तथा विचारको संश्लेषणबारे समीक्षा हुने प्रचार संयोजक अग्नि सापकोटाले बताए । ‘मुख्य कुरो संगठन नै हो । संगठनलाई मजबुत बनाउँदै जान्छौँ । समाज रूपान्तरणको अभियानमा निरन्तर रहन्छौँ । निर्वाचनका कारण बाँकी रहेका एकता प्रक्रियाका काम पनि अब अघि बढ्छन्,’ उनले भने ।

एकता प्रक्रिया सम्पन्न गरेसँगै तल्लो तहबाट अधिवेशन गर्दै एकता महाधिवेशन गर्ने नेकपाको योजना छ । यद्यपि, एकता महाधिवेशनबारे केन्द्रीय समिति बैठकले निर्णय गर्ने नेताहरू बताउँछन् । नेकपाको केन्द्रीय समिति २५ सयहाराहारीको छ । एकता प्रक्रियामा सहभागी दलका केन्द्रीय कमिटीलाई व्यवस्थापन गर्नुपरेकाले केन्द्रीय कमिटीको संख्या ठुलो भए पनि महाधिवेशनपछि चुस्त कमिटी बन्ने दाबी नेताहरूको छ । यद्यपि, छलफलबाटै कमिटी संख्या, आगामी नीति र रणनीति तय हुने नेताहरू बताउँछन् । नेकपाले नेपाली विशेषताको समाजवादलाई मुख्य विषय बनाएको छ । सुशासन, सामाजिक न्याय र समृद्धि हुँदै समाजवादसम्म पुग्न सकिने नेताहरू दाबी गर्छन् ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय