झापा । स्वास्थ्य कार्यालय झापाको आयोजनामा कमल नगर अस्पतालमा राष्ट्रिय महिला स्वास्थ्य स्वयंसेविकाहरूका लागि रिफ्रेसर तालिम सुरु भएको छ। समुदायस्तरमा स्वास्थ्य सेवाको गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यले उक्त तालिम आयोजना गरिएको हो।
चैत ४ गतेदेखि ७ गतेसम्म चार दिन सञ्चालन हुने यस तालिममा गाउँपालिकाभरिका महिला स्वास्थ्य स्वयंसेविकाहरूको सक्रिय सहभागिता रहनेछ । तालिममार्फत स्वयंसेविकाहरूलाई मातृ तथा शिशु स्वास्थ्य, पोषण, सरसफाइ, खोप कार्यक्रम तथा प्राथमिक स्वास्थ्य सेवासम्बन्धी नवीन जानकारी तथा सीप प्रदान गरिने स्वास्थ्य कार्यालय झापाका प्रमुख वृज कुमार दासले जानकारी दिनुभयो।
स्वास्थ्य सेवाको पहिलो सम्पर्क बिन्दुका रूपमा रहेका महिला स्वास्थ्य स्वयंसेविकाहरूको क्षमता अभिवृद्धि गर्न यस्ता तालिमहरू अत्यन्त महत्वपूर्ण हुने विश्वास गरिएको छ।
तालिमले समुदायस्तरमा स्वास्थ्य सचेतना वृद्धि गर्नुका साथै सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउन मद्दत पुग्ने कमल गाउँपालिका स्वास्थ्य शाखा प्रमुख दीपक प्रसाद दाहालले बताउनुभयो।
उक्त तालिम स्वास्थ्य कार्यालय झापाको आयोजनामा तथा कमल गाउँपालिकाको समन्वयमा कमल नगर अस्पतालमा सञ्चालन भइरहेको छ।



