झापा । कमल गाउँपालिकामा सञ्चालनमा रहेका विभिन्न विकास निर्माणका योजनाहरू समयमै सम्पन्न गराउने उद्देश्यले जनप्रतिनिधि तथा कर्मचारीहरूले निर्माणस्थलमै पुगेर अनुगमन गरेका छन्।
गाउँपालिका अध्यक्ष हुकुम सिंह राई र प्रमुख प्रशासकीय अधिकृत केशव कुमार ढकालले विभिन्न स्थानमा भइरहेको कामको स्थलगत निरीक्षण गर्दै निर्माण कार्यलाई छिटो र गुणस्तरीय रूपमा सम्पन्न गर्न निर्देशन दिएका छन्।
वडा नं. ५ अन्तर्गत पाथिभारा चोकदेखि रेडक्रससम्मको सडक कालोपत्रे गर्ने क्रममा प्राइम कार्य भइरहेको छ भने दक्षिणतर्फ करिब ४०० मिटर क्षेत्रमा ब्लक टाइल बिछ्याउने काम जारी छ।
त्यस्तै, वडा नं. ६ को रेन्जि चोक, पञ्चकन्या हुँदै जीवन चोकसम्मको सडकमा देखिएको सीमा विवाद समाधान भइसकेको र सब-बेसको काम सम्पन्न भइसकेको जानकारी दिइएको छ। उक्त सडकमा छिट्टै कालोपत्रे गरिने तयारी भइरहेको ठेकदारले बताएका छन।
जीवन चोक पूर्वतर्फ भुत्लुङ्ग पुल नजिक करिब ६५ मिटर क्षेत्रमा कालोपत्रे गर्न बाँकी रहेकोले सो काम पनि चाँडै सम्पन्न गरिने जनाइएको छ। साथै वडा नं. ५ र ६ को काटा चोक पूर्वतर्फ केही समयदेखि रोकिएको बक्स पुल निर्माण कार्य पुनः सुरु गरिने र केही दिनअघि आएको पानीले बगाएको डिभाइडर पुनर्निर्माण गरी आवागमनलाई सहज बनाइने प्रमुख प्रशासकीय अधिकृत केशव कुमार ढकालले बताए।
गाउँपालिकाले निर्माण कार्य भइरहेको क्षेत्रका स्थानीयबासीलाई पनि सक्रिय रूपमा निगरानी र खबरदारी गर्न आग्रह गर्दै विकास योजनाहरूमा ढिलाइ नहोस् भन्ने उद्देश्यले नियमित अनुगमनलाई तीव्रता दिएको अध्यक्ष हुकुम सिंह राईले जानकारी दिए।



