काठमाडौँ । बालेन शाहले नयाँ रणनीतिसहित प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्ने तयारी गरेको विशेष स्रोतले जनाएको छ।
स्रोतका अनुसार, प्रधानमन्त्री पदमा नियुक्त भएपछि शाहले परम्परागत शैलीभन्दा फरक ढंगले सरकार सञ्चालन गर्ने योजना बनाएका छन्। उनको रणनीतिअनुसार प्रधानमन्त्री बनेपछि २वर्ष सम्म कुनै पनि छिमेकी देशको भ्रमण नगर्ने, तर आवश्यक परेमा संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुने र त्यहाँ “वन–टु–वन” कूटनीतिक भेटवार्ता गर्ने योजना बनाइएको छ।
शाहले प्रधानमन्त्री कार्यालयमा बिचौलिया र अनावश्यक भेटघाटलाई पूर्ण रूपमा निषेध गर्ने नीति अपनाउने तयारी गरेका छन्। प्रधानमन्त्रीसँग कुनै बिचौलिया वा अनावश्यक व्यक्तिले भेट्न नपाउने, ठेकेदार संघका प्रतिनिधिसँग भेटघाट नगर्ने तथा औपचारिकता मात्रका लागि हुने रिवन काट्ने कार्यक्रमहरूमा नजाने उनको योजना रहेको बताइएको छ।
सरकार सञ्चालनमा काममुखी शैली अपनाउने भन्दै उनले केवल आवश्यक र परिणाम दिने काममा मात्र समय खर्च गर्ने रणनीति बनाएका छन्। स्रोतका अनुसार, सरकारको संरचना पनि छोटो र प्रभावकारी बनाइनेछ। अहिलेको भन्दा कम गरी करिब १५ देखि १८ वटा मात्र मन्त्रालय राख्ने योजना बनाइएको छ।
मन्त्रालयहरूमा राजनीतिक भागबण्डाभन्दा पनि विषयगत विज्ञहरूलाई प्राथमिकता दिने, आवश्यक परेमा विज्ञ सल्लाहकार राखेर नीतिगत निर्णय लिने तयारी भइरहेको स्रोतले जनाएको छ।
त्यस्तै रवि लामिछाने पार्टी सञ्चालनमा केन्द्रित हुने र शाहले सरकार तथा देशको नेतृत्व सम्हाल्ने गरी कार्यविभाजन गर्ने विषयमा समेत आन्तरिक रूपमा छलफल भएको बताइएको छ।
यसरी परम्परागत राजनीतिक शैलीभन्दा फरक ढंगले शासन सञ्चालन गर्ने उद्देश्यसहित Balen Shah ले आफ्नो प्रारम्भिक रोडम्याप तयार पारेको विशेष स्रोतले जानकारी दिएको छ।



