झापा — कोशी प्रदेश प्रहरी कार्यालय, विराटनगरले इलाका प्रहरी कार्यालय दमक, झापामा कार्यरत प्रहरी नायव उपरीक्षक (डीएसपी) किशोर लम्साललाई २०८२ साल फागुन महिनाको “सर्वोत्कृष्ट प्रहरी” घोषणा गरेको छ।
कार्यालयका अनुसार विभागीय मूल्य–मान्यता र आदेश–निर्देशनको पालना गर्दै उच्च मनोबल र साहसका साथ जिम्मेवारी निर्वाह गरेको मूल्याङ्कनका आधारमा उनलाई उक्त सम्मान प्रदान गरिएको हो।



डीएसपी लम्सालले फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनका क्रममा झापा निर्वाचन क्षेत्र नं. ५ जस्तो संवेदनशील क्षेत्रमा शान्ति सुरक्षा कायम गर्दै निर्वाध रूपमा निर्वाचन सम्पन्न गराउन महत्वपूर्ण भूमिका खेलेका थिए।
त्यसैगरी, ‘Gen-Z आन्दोलन’ का क्रममा इलाका प्रहरी कार्यालय दमकबाट लुटिएका हतियार खोजी गर्ने क्रममा उनले नेतृत्वदायी भूमिका निर्वाह गर्दै कार्यालय नजिकैको झाडीबाट Y13487 नम्बरको मार्का–४ राइफल बरामद गरेका थिए। साथै, विभिन्न स्थानबाट १९ जना प्रतिवादी पक्राउ गरिएको प्रहरीले जनाएको छ।
फागुन महिनामा दर्ता भएका ३५ मुद्दामध्ये ‘Gen-Z आन्दोलन’ सम्बन्धी १० वटै मुद्दा फर्छ्यौट गरिनु, आन्दोलनका कारण क्षति पुगेको प्रहरी कार्यालयको मर्मत तथा व्यवस्थापनमा स्थानीय निकाय र समुदायसँग सहकार्य गर्नु, २१७ मोटरसाइकललाई ध्वनि प्रदूषणका आधारमा कारबाही गर्नु तथा फरार २२ प्रतिवादी पक्राउ गर्न सफल हुनु उनका प्रमुख उपलब्धि रहेको जनाइएको छ।
प्रहरी कार्यालयले जनसुरक्षामा उल्लेखनीय योगदान पुर्याएको भन्दै डीएसपी लम्साललाई ‘बेस्ट पुलिस अफ द मन्थ’ घोषणा गरेको हो।








