दमक । झापा जिल्लाको कमल गाउँपालिका–६ चोमोलुङ क्षेत्रमा भएको अभद्र व्यवहार तथा कुटपिट घटनामा संलग्न पक्षबीच मिलापत्र भएको छ।
मिति २०८२ फागुन १४ गते बेलुका करिब ५ बजे युवराज पाठकले अर्जुन कुमार आचार्य माथि गालीगलौज गर्दै कुटपिट गरेको आरोपमा मुद्दा दर्ता भएको थियो। उक्त घटनापछि स्थानीय भद्रभलादमी तथा सरोकारवालाको उपस्थितिमा दुवै पक्षबीच छलफल भई मिलापत्र गरिएको हो।
मिलापत्रअनुसार घटनाप्रति नेकपा एमाले निकट भातृ संगठन युथ भोलेन्टियर्स फोर्सले प्रेस विज्ञप्तिमार्फत दुःख व्यक्त गर्ने सहमति भएको छ। साथै घटनामा संलग्न अन्य व्यक्तिहरुको पहिचान खुलेमा पार्टीले आन्तरिक कारवाही गर्ने जनाएको छ।
घटनामा घाइते भएका आचार्यको सम्पूर्ण उपचार खर्च, हराएको एक थान चश्मा तथा Samsung कम्पनीको मोबाइलसमेतको क्षतिपूर्ति विपक्षी पक्षबाट उपलब्ध गराइसकिएको मिलापत्र कागजमा उल्लेख छ। हाल आचार्यको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ।
मिलापत्रपछि पीडित आचार्यले यस विषयमा अब कुनै मागदाबी नरहेको र भविष्यमा उजुरी नगर्ने सहमति जनाएका छन्। सहमति विपरीत गएमा प्रचलित कानूनअनुसार कारवाही भोग्न तयार रहने उल्लेख गरिएको छ।
उक्त मिलापत्र कागज दमक नगरपालिका–६ मा दुवै पक्ष, साक्षी तथा रोमनाथ ओली (प्रतिवादी पक्षका प्रतिनिधि)को उपस्थितिमा हस्ताक्षर गरिएको हो।



