रास्वपा कोशी प्रदेश सदस्य ठगेन्द्र न्यौपानेको साधारण सदस्यता खारेज

मोरङ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कोशी प्रदेश सदस्य ठगेन्द्र न्यौपानेको साधारण सदस्यता खारेजी गर्न सिफारिस गरेको छ।

पार्टीको केन्द्रीय अनुशासन आयोगले २०८२ साल चैत्र १ गते न्यौपानेको सदस्यता खारेजी गर्न केन्द्रीय समितिमा सिफारिस गरेको हो। आयोगका अनुसार मोरङ निर्वाचन क्षेत्र नं. २ का सचिवालय सदस्यसमेत रहेका न्यौपानेले २०८२ फागुन २१ गते भएको प्रतिनिधि सभा सदस्य निर्वाचनका क्रममा पार्टीको विधान, कार्यविधि, आचारसंहिता तथा निर्वाचन आचारसंहिताविपरीत गतिविधि गरेको ठहर गरिएको छ।

अनुशासन आयोगले न्यौपानेले सामाजिक सञ्जालमार्फत अन्य राजनीतिक दललाई सहयोग पुग्ने प्रकारको पोस्ट गरेको विषयमा ध्यानाकर्षण भएको जनाएको छ। सोही आधारमा उनलाई पार्टीबाट साधारण सदस्यता खारेजी गर्न केन्द्रीय समितिमा सिफारिस गरिएको आयोगले जनाएको छ।

यो सिफारिस आयोगका कार्यवाहक प्रमुख रमाकान्त रिमालद्वारा हस्ताक्षरित पत्रमार्फत गरिएको हो। अब केन्द्रीय समितिको निर्णयपछि न्यौपानेको सदस्यता खारेजीबारे अन्तिम निर्णय हुने बताइएको छ।

यसैबीच न्यौपानेले सामाजिक सञ्जालमार्फत आफ्नो प्रतिक्रिया सार्वजनिक गर्दै विगत ३ वर्ष ६ महिनादेखि देश निर्माण र संगठनको आधार मजबुत बनाउन आफूले गरेको मेहनतप्रति सदैव गर्व रहने बताएका छन्।

उनले लेखेका छन्, “जवाफदेहिता, पारदर्शिता र इमान्दारितामा मेरो यात्रा कहिल्यै विचलित हुनेछैन। अनुशासन आयोगको निर्णयप्रति सम्मान छ। भीडमा हराउनभन्दा आफू उभिएको ठाउँमा निष्ठापूर्वक भीड बनाउने ल्याकत मसँग छ।”

उनले रास्वपाका सम्पूर्ण साथीहरूलाई सहकार्यका लागि आभार व्यक्त गर्दै मोरङ क्षेत्र नं. २ का मतदाताको माया नै आफ्नो आगामी यात्राको आधार हुने बताएका छन्। साथै उनले अन्याय र अपमान सहेर बस्नु थप अपराधको आधार बन्ने उल्लेख गर्दै किसान र युवाको रोजगारीको पक्षमा आफ्नो आवाज निरन्तर उठिरहने बताएका छन्।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय