काठमाडौं । श्रम संस्कृति पार्टीले प्रतिनिधि सभाको समानुपातिकतर्फ आदिवासी जनजाति क्लस्टरबाट संखुवासभाका पूर्णप्रसाद लिम्बुलाई उम्मेदवारका रूपमा चयन गरेको छ।
संखुवासभामा जन्मिएका लिम्बु हाल धरानलाई कर्मथलो बनाएर विभिन्न सामाजिक तथा सांस्कृतिक गतिविधिमा सक्रिय रहँदै आएका छन्। उनी गोरखा ब्रिटिस आर्मीका क्याप्टेनसमेत हुन्।
कला क्षेत्रमा समेत सक्रिय रहेका लिम्बु कलाकार, गायक तथा गीतकारका रूपमा परिचित छन्। उनले ‘नाम्लो’ फिल्ममा मुख्य कलाकारका रूपमा अभिनय गरेका छन् भने ‘चारधाम’ फिल्ममा सहायक कलाकारको भूमिकामा देखिएका थिए।
समाजसेवामा पनि सक्रिय लिम्बुले गोरखा वेलफेयरमार्फत विभिन्न सामाजिक कार्यमा सहयोग गर्दै आएका छन्। साथै, उनी गोरखा चौतारीका संयोजकका रूपमा समेत कार्यरत छन्।
उनी भन्छन्, “मलाई केवल एउटा सुत्ने कोठा, किचन र ट्वाइलेट भएको सामान्य घर भए पुग्छ।”
आरामदायी र सुखविलासपूर्ण जीवन त्यागेर नेपालमै केही गर्ने सोचका साथ सामाजिक तथा राजनीतिक क्षेत्रमा सक्रिय लिम्बुले श्रम संस्कृति पार्टीलाई यहाँसम्म ल्याउन देश–विदेशबाट आर्थिक सहयोग संकलन गर्नुका साथै भौतिक रूपमा पनि सहयोग गर्दै आएको पार्टी स्रोतले जनाएको छ।
धरान क्षेत्रमा कोका खानेपानी परियोजनामा समेत उनको महत्वपूर्ण योगदान रहेको बताइएको छ। इमान्दार र समाजप्रति समर्पित व्यक्तित्वका रूपमा चिनिएका लिम्बुले नेपालमै बसेर देशका लागि केही गर्ने लक्ष्यका साथ विभिन्न क्षेत्रमा योगदान दिँदै आएका छन्।



