दमक । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का केन्द्रीय सदस्य तथा झापा क्षेत्र नं ५ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार बनेका लक्ष्मी प्रसाद संग्रौलाले सामाजिक सञ्जालमार्फत भावुक अभिव्यक्ति सार्वजनिक गरेका छन्। उनले आफ्नो जीवन मानव सेवा, धर्म रक्षा र राष्ट्र सेवाको मार्गमा बिताएको उल्लेख गरेका छन्।
संग्रौलाले दुःखमा परेका मानिसलाई सहयोग गर्ने, असहाय बिरामीको उपचारमा साथ दिने र गरिब बालबालिकाको शिक्षामा सहयोग गर्दै आएको बताएका छन्। यी सबै कार्य आफूले कहिल्यै प्रचार वा स्वार्थका लागि नगरेको उनको भनाइ छ।



उनले सनातन धर्म, संस्कृति र राष्ट्रप्रेमलाई आफ्नो जीवनको मूल मन्त्र बनाएको उल्लेख गर्दै राजनीतिमा पनि यही विश्वासका साथ प्रवेश गरेको बताएका छन्।
राप्रपाले प्रतिनिधिसभा निर्वाचनका लागि झापा क्षेत्र नं ५ बाट संग्रौलालाई उम्मेदवार बनाएको थियो।
संग्रौलाले अन्त्यमा आफूलाई पद वा सम्पत्तिका कारण होइन, देशको माटोलाई आमा मानेर जनताको सेवा गर्न खोज्ने साधारण नेपालीका रूपमा सम्झिन आग्रह गरेका छन्।








