२०८२ फागुन २५, सोमबार
झापा । नेपाली कांग्रेसका कोशी प्रदेश सदस्य हुकुम सिंह राईले चुनावी परिणामपछि पार्टीभित्र गम्भीर आत्मसमिक्षा गर्नुपर्ने आवश्यकता औँल्याएका छन्। उनले खराब समय सबैको जीवनमा आउने उल्लेख गर्दै यस्तो अवस्थामा आफ्नै कमजोरी पहिचान गर्न जरुरी रहेको बताएका छन्।



उनले हार–जीत जीवनको स्वाभाविक प्रक्रिया भएको उल्लेख गर्दै जीतले भन्दा हारले मानिसलाई धेरै कुरा सिकाउने बताए। मनैदेखि सचिन चाहनेहरू मात्र सचिन सक्ने भन्दै उनले जनताको मतप्रति आफू सदैव सम्मानित रहेको बताएका छन्।
राईले नेपाली कांग्रेस हार्दै गर्दा विशेष महाधिवेशनको विरोध गर्ने र यसको औचित्य समाप्त भएको बताउनेहरूले नै पार्टी र उम्मेदवारविरुद्ध ठूलो अन्तरघात गरेको आरोप लगाए। उनले ठोकुवाका साथ यस्तो गतिविधिले पार्टीलाई कमजोर बनाएको दाबी गरे।
चुनावी परिणामले पार्टी गम्भीर संकटमा पुगेको संकेत गरेको भन्दै उनले निराश नहुन कार्यकर्तालाई आग्रह गरेका छन्। उनले अझ संगठित, बलियो र एकजुट भएर कांग्रेसलाई पुनः जनताको पार्टी बनाउने संकल्प गर्नुपर्नेमा जोड दिएका छन्।
साथै उनले ढिला नगरी पार्टीका सबै तहमा निर्मम रूपमा चुनावी समीक्षा गर्नुपर्ने आवश्यकता औँल्याउँदै यही प्रक्रियाबाट पार्टीलाई सही दिशामा लैजान सकिने विश्वास व्यक्त गरेका छन्। अन्त्यमा उनले “जय नेपाल” भन्दै पार्टी एकताको सन्देश दिएका छन्।








