सुनपकुवा माध्यमिक विद्यालय मा तोडफोड गर्ने समूह प्रहरी नियन्त्रणमा

उर्लाबारी । मोरङको उर्लाबारी–२, मंगलबारे बजारमा अवस्थित श्री सुनपकुवा माध्यमिक विद्यालयमा भएको तोडफोड घटनामा संलग्न समूहलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

 

गत फाल्गुन १४ गते मध्यरातमा एक अज्ञात समूहले विद्यालयको कम्पाउण्ड वाल फोरेर भित्र प्रवेश गरी विद्यालयको भौतिक संरचनामा क्षति पुर्‍याएको थियो। विद्यालय प्रशासनका अनुसार तोडफोडका क्रममा फर्निचर, झ्यालका सिसा तथा महत्वपूर्ण शिक्षण सामग्रीहरू नष्ट गरिएका थिए।

 

घटनाबारे जानकारी पाउनासाथ सक्रिय बनेको प्रहरी टोलीले अनुसन्धान अघि बढाउँदै संलग्न व्यक्तिहरूको पहिचान गरी पक्राउ गर्न सफल भएको जनाएको छ। पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको र उनीहरूलाई प्रचलित कानुन बमोजिम कडा कारबाही प्रक्रिया अगाडि बढाइएको प्रहरी स्रोतले जानकारी दिएको छ।

 

विद्यालयजस्तो पवित्र शैक्षिक संस्थामाथि गरिएको उच्छृङ्खल तथा आपराधिक गतिविधिको स्थानीय अभिभावक, शिक्षाप्रेमी तथा नागरिक समाजले कडा शब्दमा भर्त्सना गरेका छन्। उनीहरूले यस्ता घटनाको पुनरावृत्ति रोक्न विद्यालय परिसरको सुरक्षा व्यवस्था थप मजबुत बनाउन सम्बन्धित निकायसँग माग गरेका छन्।

 

यस घटनाले स्थानीय समुदायमा चिन्ता थपिएको छ भने शैक्षिक वातावरण सुरक्षित राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्ने आवश्यकता औंल्याइएको छ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय