झापा — कमल गाउँपालिका सभाहलमा स्वास्थ्य शाखा, कमल गाउँपालिकाको आयोजनामा तथा नेपाल कुष्ठरोग संगती (नेपाल लेप्रोसी फेडेरेसन) को सहकार्यमा कुष्ठरोग अभिमुखिकरण तथा वार्षिक समीक्षा कार्यक्रम सम्पन्न भएको छ।



कार्यक्रमको प्रस्तुतीकरण स्वास्थ्य शाखा प्रमुख तथा जनस्वास्थ्य निरीक्षक दिपक प्रसाद दहालले गर्नुभएको थियो । कार्यक्रममा आर्थिक वर्ष २०८१/०८२ मा सञ्चालन भएका गतिविधिहरूको समीक्षा गर्दै बालबालिकामा संक्रमण रोकथाम, समुदायमा जनचेतना अभिवृद्धि, सक्रिय बिरामी खोजी, पूर्ण उपचार व्यवस्थापन र विभेद न्यूनीकरणका विषयमा छलफल गरिएको थियो।
गत वर्ष २१ सामुदायिक विद्यालयमा अभिमुखिकरण तथा स्वैच्छिक परीक्षण कार्यक्रम सञ्चालन गरी ६,०३२ विद्यार्थी (२,६५७ छात्र र ३,३७५ छात्रा) लाभान्वित भएका छन्। ३२ जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको थियो। साथै १६ स्थानमा अभिमुखिकरण तथा १५ क्लष्टरमा सक्रिय बिरामी खोजी कार्यक्रम सञ्चालन गरिएको जानकारी दिइयो।
यसैगरी स्वास्थ्य शिक्षा सामग्री वितरण, होर्डिङ बोर्ड स्थापना, पर्चा प्रचार, स्वास्थ्यकर्मी क्षमता अभिवृद्धि तालिम, जटिल बिरामीको निःशुल्क प्रेषण सेवा, MCR जुत्ता वितरण, स्वयं हेरचाह तालिम र नियमित फलोअप भ्रमण समेत सञ्चालन गरिएको छ।
पुनर्स्थापना कार्यक्रमअन्तर्गत घर निर्माण/मर्मत, बाख्रा तथा सुँगुर पालन र आयआर्जन सहयोगका कार्यहरू पनि सम्पन्न भएका छन्।
कार्यक्रम गाउँपालिका अध्यक्ष हुकुमसिंह राई को अध्यक्षतामा सम्पन्न भएको थियो। प्रमुख प्रशासकीय अधिकृत केसव कुमार ढकाल, महिला बालबालिका शाखा प्रमुख रिता कार्की, कमल नगर अस्पतालका मेसु डा. फुलक चन्द्र लावती, अपाङ्गता समिति, नेपाल लेप्रोसी फेडेरेसन का अधिकृत डिवी गुरुङ तथा अन्य सरोकारवालाको उपस्थिति रहेको थियो।
अध्यक्ष राईले आगामी दिनमा सबै सरोकारवालाको सहकार्यमा कुष्ठरोग नियन्त्रणलाई अझ प्रभावकारी बनाउँदै कमल गाउँपालिकालाई कुष्ठरोग शून्यतर्फ उन्मुख गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो। आर्थिक वर्ष २०८२/०८३ मा बाँकी विद्यालयमा कार्यक्रम विस्तार गरिने जनाइएको छ।









