दमक । दमक नगर इसाई समाजको ३०औँ स्थापना दिवस तथा तेस्रो अधिवेशनले पास्टर हेमन्त सुब्बालाई पुनः अध्यक्षमा सर्वसम्मत चयन गरेको छ।
दमक–५ स्थित ज्योति चर्चमा आइतबार सम्पन्न अधिवेशनबाट सुब्बा दोस्रो कार्यकालका लागि अध्यक्षमा सर्वसम्मत चयन भएका हुन्।



सुब्बाको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति गठन गरिएको छ। समितिको उपाध्यक्षमा पास्टर राम राई, सचिवमा हरिकुमार राई, कोषाध्यक्षमा लिलबहादुर राई र सह–सचिवमा विनय गहराज चयन भएका छन्।
त्यस्तै, सदस्यहरूमा रानी राई, हर्ककुमारी राई, पास्टर डम्बर आङदेम्बे र पास्टर दिपक सिन्जुली रहेका छन्।
अध्यक्ष सुब्बाको अध्यक्षता तथा दमक नगरपालिकाका प्रमुख रामकुमार थापाको प्रमुख आतिथ्यतामा स्थापना दिवस तथा अधिवेशन सम्पन्न भएको हो।
अधिवेशनलाई व्यवस्थित रूपमा सम्पन्न गर्न समाजका पूर्व अध्यक्ष पास्टर किशोर सुनुवारको संयोजकत्वमा निर्वाचन समिति गठन गरिएको थियो।
उद्घाटन समारोहमा समाजका पूर्व अध्यक्ष तथा अन्तरधार्मिक शान्ति सञ्जाल झापाका अध्यक्ष पास्टर राजकुमार नाछिरिङ राई, निवर्तमान अध्यक्ष एवं सल्लाहकार पास्टर आकाश थुलुङ राई, दमकका इसाई अगुवा रेभ. एन.डी. थुलुङ राई, आदनको बगैंचाका अध्यक्ष पास्टर मुक्ति किराँती राई, पूर्व अध्यक्ष पास्टर दावा शेर्पा, दिदीबहिनी समूहकी अध्यक्ष पारु खापुङ राई, युवा सङ्गतिका अध्यक्ष सुरज लिम्बुसहित दमकका विभिन्न वडाका चर्चका पास्टर तथा प्रतिनिधिहरूको उपस्थिति थियो।
समारोहमा कोषाध्यक्ष हरि राईले आर्थिक वर्ष २०८२/०८३ को आय–व्यय विवरण प्रस्तुत गरेका थिए भने अध्यक्ष पास्टर हेमन्त सुब्बाले समाजको प्रगति विवरण प्रस्तुत गरेका थिए।
समाजको आर्थिक पक्ष समेटिएको आय–व्यय विवरणमाथि लेखा सुपरिवेक्षण समितिका संयोजक पास्टर मनबहादुर आङदम्बेले सुझाव प्रस्तुत गरेका थिए। अधिवेशनसम्बन्धी जानकारी समाजका सचिव पास्टर अजय पाठकले दिएका हुन्।










