कमल । जापानिज इन्सेफ्लाइटिस (जेई) विरुद्धको खोप अभियानलाई प्रभावकारी बनाउन कमल गाउँपालिकामा महिला स्वास्थ्य स्वयंसेविका तथा स्वयंसेवकहरूलाई अभिमुखीकरण गरिएको छ।
कमल गाउँपालिकाको स्वास्थ्य शाखाको आयोजनामा सम्पन्न अभिमुखीकरण कार्यक्रममा गाउँपालिकाका विभिन्न वडामा कार्यरत महिला स्वास्थ्य स्वयंसेविका तथा स्वयंसेवकहरूको सहभागिता रहेको थियो। कार्यक्रममा जेई खोप अभियानको उद्देश्य, लक्षित समूह, खोपको महत्व, समुदायमा सूचना तथा सन्देश प्रवाह, खोपसम्बन्धी भ्रम तथा गलत धारणाको निराकरण र अभियानमा महिला स्वास्थ्य स्वयंसेविका तथा स्वयंसेवकको भूमिकालगायतका विषयमा जानकारी गराइएको थियो।



कार्यक्रमको स्वास्थ्य निर्देशनालयबाट समेत अनुगमन तथा सुपरिवेक्षण गरिएको थियो। अनुगमन टोलीले अभिमुखीकरणको अवस्था, जेई खोप अभियान सञ्चालनको तयारी, स्वास्थ्यकर्मी तथा स्वयंसेविकाको परिचालन र समुदायस्तरमा स्वास्थ्य सन्देश प्रवाहको अवस्थाबारे जानकारी लिएको थियो।
कार्यक्रममा कमल गाउँपालिकाका अध्यक्ष हुकुम सिंह राईले जेईजस्ता संक्रामक रोगको जोखिम न्यूनीकरणका लागि खोप अभियानलाई प्रभावकारी बनाउन सबै पक्षको सहकार्य आवश्यक रहेको बताए।
अध्यक्ष राईले खोप अभियानलाई स्वास्थ्य संस्थामा मात्र सीमित नराखी प्रत्येक टोल, बस्ती र समुदायसम्म पुर्याउनुपर्नेमा जोड दिए। उनले भने, “स्वास्थ्यकर्मी मात्रको प्रयासले अभियान सफल हुँदैन। महिला स्वास्थ्य स्वयंसेविका, स्वयंसेवक, शिक्षक, जनप्रतिनिधि र समुदाय सबैको सक्रिय सहभागिता आवश्यक छ। खोपबारे सही सूचना समुदायसम्म पुर्याएर लक्षित सबै नागरिकलाई खोपको पहुँचमा ल्याउनुपर्छ।”
उनले स्वास्थ्य सेवाको पहुँच विस्तारसँगै नागरिकमा स्वास्थ्यसम्बन्धी सचेतना बढाउनु स्थानीय सरकारको महत्वपूर्ण जिम्मेवारी भएको उल्लेख गर्दै अभियानका क्रममा देखिने समस्या समाधानका लागि गाउँपालिका प्रतिबद्ध रहेको बताए।
अभिमुखीकरणमा सहभागी महिला स्वास्थ्य स्वयंसेविका तथा स्वयंसेवकहरूलाई आफ्नो कार्यक्षेत्रका नागरिकलाई जेई खोपको महत्वबारे जानकारी गराउने, लक्षित व्यक्तिहरूको पहिचान तथा सहभागिता सुनिश्चित गर्न सहयोग गर्ने र अभियानका क्रममा आवश्यक समन्वय तथा सहजीकरण गर्ने विषयमा समेत जानकारी गराइएको थियो।
कार्यक्रमको अन्त्यमा महिला स्वास्थ्य स्वयंसेविकाहरूले जेई खोप अभियानलाई सफल बनाउन आफ्नो जिम्मेवारी इमानदारीपूर्वक निर्वाह गर्ने प्रतिबद्धता जाहेर गरेका थिए। उनीहरूले आफ्नो कार्यक्षेत्रका घरपरिवार तथा समुदायसम्म पुगेर खोपसम्बन्धी सही सूचना प्रवाह गर्ने, खोप लगाउन छुट्न सक्ने लक्षित नागरिकलाई अभियानमा सहभागी गराउन सहयोग गर्ने र स्वास्थ्य शाखासँग आवश्यक समन्वय गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।
स्वास्थ्य शाखा प्रमुख दिपक प्रसाद दाहाल का अनुसार जेई खोप अभियानलाई सफल बनाउन गाउँपालिकाले स्वास्थ्य संस्था, जनप्रतिनिधि, विद्यालय, महिला स्वास्थ्य स्वयंसेविका तथा समुदायका अन्य सरोकारवालाबीच समन्वय गरी अभियान सञ्चालन गर्ने तयारी गरेको छ।
स्वास्थ्य निर्देशनालयबाट गरिएको अनुगमन तथा सुपरिवेक्षणले स्थानीय तहमा अभियान सञ्चालनको तयारी र कार्यान्वयन अवस्थालाई थप व्यवस्थित बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
समुदायको घरदैलोमा पुगेर स्वास्थ्य सन्देश प्रवाह गर्ने महिला स्वास्थ्य स्वयंसेविका तथा स्वयंसेवकको सक्रिय सहभागितालाई अभियानको महत्वपूर्ण आधारका रूपमा लिँदै कमल गाउँपालिकाले जेई खोप अभियानलाई लक्षित नागरिकसम्म प्रभावकारी रूपमा पुर्याउने तयारी गरेको छ।










