युवराज रेग्मी , गौरादह । झापा–मोरङ क्षेत्रमा यस वर्ष चैते धानको मूल्य अत्यन्तै न्यून भएपछि किसानहरू गम्भीर समस्यामा परेका छन्। हिजो आज बजारमा चैतेधान प्रतिमन रु ७०० देखि ७५० सम्ममा बिक्री भइरहेको छ ।
पेट्रोलियम पदार्थको मुल्यमा भारी वृद्धि भए सँगसँगै खेत जोताइ तथा हार्भेस्टरको मूल्य वृद्धिले उत्पादन लागत भने निरन्तर बढिरहेको अवस्थामा उत्पादनको न्यून मुल्यांकनले किसानहरू चिन्तित्त बनेकाछन ।



विशेषगरी अधिकांश किसानले धान काट्न हारभेस्टर मेसिनको प्रयोग गरेकाछन्। किसानहरूका अनुसार हारभेस्टरको भाडा प्रतिघण्टा ६ हजार ५०० देखि ७ हजार ५०० रुपैयाँसम्म तिर्नुपरेको छ।
करिब ८० देखि ९० प्रतिशत किसानले यही प्रविधि प्रयोग गरेर धान भित्र्याएको गौरिगन्जका एक किसान श्याम न्यौपानेले बताए । न्यौपानेकस अनुसार मजदुर अभाव र समयमै बाली भित्र्याउनुपर्ने बाध्यताका कारण महँगो शुल्क तिरेर किसान हरुले मेसिन प्रयोग गर्नुपर्ने बाध्यता रहेको छ ।
एकातिर मल, बीउ, विषादी, सिँचाइ र खेत जोत्न लाग्ने खर्च वर्षेनी बढ्दै गएको छ भने अर्कोतिर उत्पादन बिक्री गर्दा उचित मूल्य नपाउँदा किसानको आम्दानी घट्दै गएको छ। यसले खेतीपातीबाट जीविकोपार्जन गरिरहेका किसानलाई थप संकटमा धकेलेको छ।
किसानहरू भन्छन्, “उत्पादन लागत बढ्दै गइरहेको छ, तर धानको मूल्य भने वर्षौंअघिकै जस्तो छ। मेहनत र लगानीअनुसार प्रतिफल नपाउँदा खेतीप्रति नै निराशा बढ्दै गएको छ।”
कृषि क्षेत्रलाई देशको अर्थतन्त्रको मेरुदण्ड भनिए पनि किसानले उत्पादनको उचित मूल्य नपाउँदा खेतीपातीप्रति युवापुस्ताको आकर्षण घट्दै गएको देखिन्छ। उत्पादन बढाउन प्रोत्साहन दिने नीति ल्याइए पनि बजार व्यवस्थापन र न्यूनतम समर्थन मूल्यको प्रभावकारी कार्यान्वयन नहुँदा किसानले राहत महसुस गर्न सकेका छैनन्।
झापा र मोरङका किसानहरूले सरकारसँग उत्पादन लागतका आधारमा धानको न्यूनतम समर्थन मूल्य निर्धारण गर्न, बजार व्यवस्थापन प्रभावकारी बनाउन तथा कृषि यान्त्रिकीकरणमा दिइने सहुलियतलाई थप विस्तार गर्न माग गरेका छन्।
“आम्दानी कम हुँदा पनि लगानी बढाउन बाध्य किसानको भविष्य के हुन्छ ?” भन्ने प्रश्न अहिले गाउँ–गाउँमा उठ्न थालेको छ। कृषि प्रधान देश नेपालमा किसान नै आफ्नो उत्पादनको मूल्य खोज्दै भौतारिनुपर्ने अवस्था सिर्जना हुनु चिन्ताको विषय बनेको छ।
किसानको पसिनाको उचित मूल्य सुनिश्चित गर्न सरकार गम्भीर नबन्ने हो भने कृषि क्षेत्रप्रतिको विश्वास अझ कमजोर बन्न सक्ने देखिन्छ।








