झापा । नेपाल पत्रकार महासंघ झापा शाखाको आयोजनामा सम्पन्न पत्रकारिता विषयक हाजिरीजवाफ प्रतियोगितामा भद्रपुर प्रेस क्लब प्रथम स्थान हासिल गर्न सफल भएको छ।
दमक नगरपालिका–८ स्थित कस्मिक पार्टी प्यालेसमा आयोजित प्रतियोगितामा जिल्लाका ११ पत्रकार तथा सञ्चारसम्बद्ध संस्थाहरूको सहभागिता रहेको थियो।



पत्रकारिता, सञ्चार, आचारसंहिता, समसामयिक विषय तथा पेशागत ज्ञानसँग सम्बन्धित प्रश्नहरू समेटिएको प्रतिस्पर्धामा भद्रपुर प्रेस क्लबले उत्कृष्ट प्रदर्शन गर्दै उपाधि जितेको हो।
प्रतियोगितामा अर्जुनधारा प्रेस क्लब द्वितीय तथा नेपाल प्रेस युनियन तृतीय स्थानमा रहे। त्यसैगरी प्रेस क्लब, प्रेस चौतारी, नारी सञ्चार गृह, सञ्चारिका समूह, फोनिज झापा तथा पर्यटन पत्रकार मञ्चले सान्त्वना स्थान प्राप्त गरेका थिए।
विजेता टोलीलाई क्रमशः प्रथम, द्वितीय, तृतीय र सान्त्वना स्थानका लागि नगद रु. ११,१११, रु. ७,७७७, रु. ५,५५५ र रु. २,२२२ सहित प्रमाणपत्र प्रदान गरिएको थियो।
कार्यक्रमका प्रमुख अतिथि दमक नगर प्रमुख रामकुमार थापा ले पत्रकारिता क्षेत्रलाई थप व्यावसायिक, उत्तरदायी र तथ्यपरक बनाउन यस्ता ज्ञानमूलक प्रतियोगिताले महत्वपूर्ण योगदान पुर्याउने बताउनुभयो।
उहाँले सञ्चार क्षेत्र लोकतन्त्रको महत्वपूर्ण आधार भएकाले पत्रकारहरूको क्षमता अभिवृद्धिमा निरन्तर ध्यान दिनुपर्ने धारणा व्यक्त गर्नुभयो।
यस प्रतियोगिताले स्वस्थ प्रतिस्पर्धा र आपसी सहकार्यको वातावरण सिर्जना गरेको आयोजकले जनाएको छ।










