झापा। पहिलो पाइला नेपाल – कमल प्रस्तावित शाखाले सदस्य दिपेन्द्र खतिवडाको जन्मदिनको अवसरमा हुने अनावश्यक खर्चलाई सामाजिक सेवामा रूपान्तरण गर्दै कमल गाउँपालिकाका दुई धार्मिक स्थललाई धूप स्ट्यान्ड हस्तान्तरण गरेको छ।
संस्थाले श्री पहिलो पाउ पाथिभरा माता धाम, सितापुरी र श्री यज्ञेश्वरी दुर्गा पञ्चायन मन्दिर, कमल–६ मा धूप स्ट्यान्ड हस्तान्तरण गरेको हो।



शाखा संयोजक सन्जु निरौलाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पहिलो पाइला नेपालका केन्द्रीय सचिव दिवस खतिवडा प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो।
कार्यक्रममा श्री पहिलो पाउ पाथिभरा माता धाम व्यवस्थापन समितिका अध्यक्ष नेत्रप्रसाद दाहाल, उपाध्यक्ष गणेश गौतम, सदस्य तुलसी चापागाईं तथा पुजारी कृष्णप्रसाद आचार्यको उपस्थिति रहेको थियो। त्यसैगरी श्री यज्ञेश्वरी दुर्गा पञ्चायन मन्दिरका अध्यक्ष तारानिधि गौतम, मिनोद सङ्ग्रौला तथा मन्दिर व्यवस्थापन समितिका पदाधिकारीहरूलाई धूप स्ट्यान्ड हस्तान्तरण गरिएको थियो।
कार्यक्रममा पहिलो पाइला नेपाल दमक शाखाका अध्यक्ष राजु निरौला, सचिव पूजा दाहाल, कार्यसमिति सदस्यहरू कमल प्रस्तावित शाखाका पदाधिकारी, सदस्य तथा स्थानीयवासीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रमको सञ्चालन सह–संयोजक कुमार पराजुलीले गर्नुभएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि खतिवडाले पहिलो पाइला नेपालको स्थापना, उद्देश्य र सामाजिक अभियानबारे जानकारी गराउँदै यस्ता सेवामूलक तथा प्रेरणादायी कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो।
विशिष्ट अतिथि श्री पहिलो पाउ पाथिभरा माता धाम व्यवस्थापन समितिका अध्यक्ष नेत्रप्रसाद दाहालले मन्दिरको स्थापना वि.सं. २०७९ सालमा भएको जानकारी दिँदै धार्मिक क्षेत्रको संरक्षण र प्रवर्द्धनमा पहिलो पाइला नेपालको योगदान प्रशंसनीय रहेको बताउनुभयो।
शाखा संयोजक सन्जु निरौलाले समुदायको वास्तविक आवश्यकतालाई पहिचान गरी सेवा गर्नु नै संस्थाको मूल उद्देश्य रहेको उल्लेख गर्दै समाज रूपान्तरण ठूला भाषणभन्दा साना तर अर्थपूर्ण कार्यबाट सम्भव हुने धारणा व्यक्त गर्नुभयो।
कार्यक्रमका सहयोगदाता तथा जन्मदिनका मनाउने दिपेन्द्र खतिवडाले जन्मदिनमा हुने फजुल खर्चलाई सामाजिक सेवामा रूपान्तरण गर्ने उद्देश्यले धूप स्ट्यान्ड सहयोग गरेको बताउनुभयो।
आफ्नै गाउँ–ठाउँका मठमन्दिरको संरक्षण, प्रवर्द्धन तथा पहिचान अभिवृद्धिसँगै सेवाभावलाई प्रोत्साहन गर्ने उद्देश्यले स्थानीय धार्मिक स्थलमा कार्यक्रम आयोजना गरिएको उहाँले उल्लेख गर्नुभयो। साथै, आगामी दिनमा पनि यस्ता समाजहितका अभियानमा निरन्तर साथ र सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो।











